एमालेको घोषणापत्र सार्वजनिक : विद्यार्थीलाई २० लाख र महिला उद्यमीलाई २५ लाखसम्म निर्व्याजी ऋण, गरिबको २५ हजार ऋण मिनाहा
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले देशलाई फेरि प्रयोगशालाजस्तो बनाउने प्रयास भइरहेको भन्दै ‘नयाँ’ भनिने शक्तिहरूको भ्रममा नपर्न मतदातालाई आग्रह गरेका छन्।
बुधबार सार्वजनिक गरिएको एमालेको चुनावी घोषणापत्र कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेससँग मिलेर सरकार गठन गरेकै कारण भदौ २३ र २४ गतेको दुर्घटना नभएको दाबी गरे। ठूला दल मिलेर सरकार बनाउँदा विकल्पहीन अवस्था सिर्जना भएको भन्ने भाष्य गलत भएको उनको भनाइ थियो।
उनले ठूला दलबीचको एकताका कारण दुर्घटना नभई उक्त एकता भत्काउन षड्यन्त्र गरिएको जिकिर गरे। संवैधानिक प्रक्रियाबाट सरकार ढाल्ने सम्भावना समाप्त भएपछि अस्थिरता सिर्जना गर्न नयाँ ढङ्गको षड्यन्त्र सुरु भएको उनको आरोप थियो। सामाजिक सञ्जाल नियमनका लागि दर्ता नभएका प्लेटफर्म बन्द गर्ने सरकारको निर्णयपछि बहाना मिलेको उल्लेख गर्दै उनले भदौ २३/२४ को घटनालाई राज्यविरुद्धको गम्भीर षड्यन्त्रका रूपमा व्याख्या गरे।
‘आज नयाँ भनिने कोही पनि वास्तवमै नयाँ छैनन्,’ ओलीले भने, ‘स्थानीय वा सङ्घीय सरकारमा सहभागी भई उनीहरूले आफ्नो क्षमता र हैसियत देखाइसकेका छन्।’ एमालेका विगतका काम नै आफ्नो प्रमाण भएको उल्लेख गर्दै उनले नीति, सुशासन र विकास निर्माणमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरेको दाबी गरे।
अध्यक्ष ओलीले एमाले सरकारको नेतृत्वमा पुगेपछि लक्ष्य र समयसीमा तोकेर काम अघि बढाइने बताए। ‘जे थालिन्छ, सम्पन्न गर्ने र जे बोलिन्छ, पूरा गर्ने हाम्रो कार्यशैली हो,’ उनले भने।
यसै अवसरमा प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले ११ बुँदे प्रतिबद्धतासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्र अनुसार १८ देखि २९ वर्ष उमेर समूहका युवालाई एक वर्षसम्म हरेक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराइनेछ।
युवा तथा उद्यमीलाई १० हजार अमेरिकी डलर बराबरको बैंक कार्ड उपलब्ध गराइने, विदेशबाट पैसा पठाउने श्रमिकको खातामा थप पाँच हजार रुपैयाँ जम्मा गरिने र वैदेशिक रोजगारीमा जाने श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा निरन्तरता दिइने व्यवस्था गरिएको छ।
घोषणापत्रमा विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निर्व्याजी ऋण तथा न्यूनतम पारिश्रमिकसहित इन्टर्नशिपको व्यवस्था गर्ने उल्लेख छ। देशभरका विद्यालयका किशोरीलाई निःशुल्क प्याड र कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरिनेछ।
श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याइने र सबै श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा समेटिने प्रतिबद्धता गरिएको छ। सामुदायिक तथा निजी विद्यालयका सबै शिक्षकलाई सामाजिक सुरक्षामा आवद्ध गर्ने, स्वास्थ्य स्वयंसेविकालाई मासिक २० हजार रुपैयाँ भत्ता उपलब्ध गराउने व्यवस्था पनि घोषणापत्रमा समावेश गरिएको छ।
उद्यमी महिलालाई २५ लाख रुपैयाँसम्म निर्व्याजी ऋण, सुत्केरी महिलालाई २० हजार रुपैयाँ भत्ता र पाँच लाख रुपैयाँसम्म निःशुल्क जीवन बिमा दिने घोषणा गरिएको छ। साथै गरिब परिवार पहिचान गरी २०८२ भदौसम्म बैंक तथा वित्तीय संस्थाबाट लिएको २५ हजार रुपैयाँसम्मको ऋण मिनाहा गरिने उल्लेख छ।
बहालवाला तथा अवकाशप्राप्त सुरक्षाकर्मीको सम्मान र कल्याण सुनिश्चित गर्दै सेवा सुविधा, सामाजिक सुरक्षा, स्वास्थ्योपचार र सीप विकासमार्फत सम्मानजनक जीवनयापनको व्यवस्था गरिने प्रतिबद्धता एमालेले जनाएको छ।
