जनकपुरधाममा गगन थापाले भने : मधेसलाई ज्ञानको केन्द्र बनाउँछौँ
काठमाडौँ । गगन थापाले मधेसलाई ज्ञानको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बुधबार जनकपुरधाम मा आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै सभापति थापाले विगतमा मधेसबाट गणित र विज्ञानका शिक्षक पहाड र हिमाल पुगेर शिक्षाको उज्यालो फैलाउने गरेको स्मरण गराए। अहिले मधेस शिक्षा क्षेत्रमा कमजोर देखिन थालेको उल्लेख गर्दै उनले अब मधेसलाई पुनः ज्ञानको केन्द्र बनाउनु पर्ने आवश्यकता औंल्याए।
“मधेसलाई ज्ञानको केन्द्र बनाउन हामी आएका छौँ,” उनले भने।
उनले संघीयतालाई थप बलियो र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि योजना र संकल्पसहित मधेस आएको बताए।
“संघीयतालाई जोगाउनुपर्छ र कामकाजी बनाउनुपर्छ,” उनले भने, “मधेस प्रदेशलाई केन्द्रमा राखेर नेपालको संघीयतामा देखिएका समस्या समाधान गर्दै संघीयता किन आवश्यक छ भन्ने प्रमाणित गर्नेछौँ।”
थापाका अनुसार यसका लागि आफ्नो टोलीले अध्ययन गरेको छ र सोही अध्ययनका आधारमा योजना तथा संकल्प तयार पारिएको छ।
युवाका आवाज सुन्ने नेपाल बनाउने प्रतिवद्धता जनाउँदै उनले भने, “प्रश्न गर्दा कुनै युवकले भदौ २३ गतेजस्तो गोली खानु नपर्ने, कसैले सिंहदरबार जलाउन जानु नपर्ने नेपाल बनाउनेछौँ।”
प्रधानमन्त्री भ्रष्टाचारका कुनै पनि काण्डमा नमुछिने व्यवस्था बनाउने प्रतिज्ञा गर्दै उनले भने, “अब देशको प्रधानमन्त्री कुनै पनि काण्डमा नमुछिने वातावरण बनाउनेछौँ। कसैले झुटा मुद्दाको सिकार हुनुपर्ने छैन, हातमा फाइल बोकेर काठमाडौँ धाउनुपर्ने अवस्था अन्त्य गर्नेछौँ।”
अबको १० वर्षभित्र प्रत्येक नेपालीलाई सम्मानपूर्वक बाँच्न सक्ने देश बनाउने लक्ष्य रहेको पनि उनले बताए।
“प्रत्येक नेपालीलाई सम्मानका साथ बाँच्न सक्ने बनाउनेछौँ,” उनले भने, “विश्वसामु स्वाभिमानी राष्ट्रका रूपमा चिनिने र समृद्धितर्फ अघि बढ्ने नेपाल निर्माण गर्नेछौँ।”
सभामा नेपाली कांग्रेस ले आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। कांग्रेसले चुनावी घोषणापत्रलाई ‘प्रतिज्ञापत्र’ नाम दिएको छ।
प्रतिज्ञापत्रमा समेटिएका विषयहरू कार्यान्वयन गरेरै छाड्ने दृढता व्यक्त गर्दै थापाले भने, “हामी घोषणा गर्न मात्र होइन, प्रतिज्ञा गर्न आएका हौँ। राजा जनकले जस्तै कांग्रेस आफ्नो प्रतिज्ञाबाट एक इन्च पनि पछि हट्ने छैन।”
