देश दुखेका बेला जितभन्दा पनि सम्हाल्ने शक्ति चाहिन्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ । विश्वप्रकाश शर्माले देश कठिन अवस्थामा रहेका बेला भइरहेको चुनावमा जित्नेभन्दा पनि देशलाई सम्हाल्न सक्ने शक्तिले जित्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

बुधबार जनकपुरधाम मा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले देश र मधेश दुवै पीडामा रहेको उल्लेख गरे।

“हामी जान्दछौँ, यो बेला देश दुखिरहेको छ, मधेश दुखिरहेको छ,” उनले भने, “यो अवस्थामा मुख्य प्रश्न कसलाई जिताउने भन्ने होइन, परिस्थितिमा देशलाई कसले सम्हाल्न सक्छ भन्ने हो।”

अहिले कसले जित्ने भन्ने विषय नै प्रमुख नभएको उनको भनाइ थियो। “कसले जित्ने होइन, कसले सम्हाल्ने भन्ने कुरा महत्वपूर्ण हो,” उनले भने, “कांग्रेसले जीवनमा धेरै चुनाव जितेको छ। जित हाम्रो लागि अनौठो विषय होइन।”

उनले कांग्रेसले धेरै चुनाव हारेको पनि स्मरण गर्दै हार पनि अस्वाभाविक कुरा नभएको बताए। “तर आजको सन्दर्भमा प्रश्न हार्ने वा जित्ने होइन,” उनले भने, “प्रश्न समाजको सद्भाव कसले कायम गर्न सक्छ भन्ने हो।”

मधेश नेपाली जनताको खाद्यान्नको प्रमुख आधार रहेको उल्लेख गर्दै शर्माले मधेशका किसानप्रति आभार प्रकट गरे। “हामी सबै नेपालीको पेटमा सबैभन्दा बढी अन्न दिने भूमि मधेश हो,” उनले भने, “मधेशका किसान र उनीहरूको उत्पादनप्रति हामी कृतज्ञता व्यक्त गर्न यहाँ आएका हौँ।”