रुपन्देही–३ मा प्रगतिशील लोकतान्त्रिक पार्टीले एमालेलाई समर्थन गर्ने निर्णय
रूपन्देही । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमाले का उम्मेदवार बासुदेव घिमिरे लाई समर्थन गर्ने निर्णय गरेको छ।
पार्टीका उम्मेदवार अनुशासनको कारबाहीमा परेपछि प्रलोपाले उक्त क्षेत्रमा एमालेका उम्मेदवार घिमिरेलाई सघाउने निर्णय गरेको जनाएको छ। पार्टीले प्रत्यक्षतर्फ घिमिरेलाई सूर्य चिन्हमा मतदान गर्न आफ्ना नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई अपिल गरेको छ।
पार्टीका क्षेत्रीय इन्चार्ज तथा केन्द्रीय सदस्य रविना भण्डारी र केन्द्रीय सदस्य विमला बिक ले संयुक्त रूपमा निर्णय सार्वजनिक गर्दै रुपन्देही–३ को चुनावी तालमेलसम्बन्धी औपचारिक जानकारी गराएका हुन्। यसअघि प्रलोपाबाट यस क्षेत्रका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि पार्टीले कुनै औपचारिक निर्णय गरेको थिएन।
यो समझदारीमा प्रलोपाका नेता बामदेव क्षेत्री तथा उम्मेदवार घिमिरेले सहमतिअनुसार अघि बढ्ने जनाएका छन्। पार्टीका अनुसार कर्णाली प्रदेश र साविक राप्तीका केही क्षेत्रमा समेत एमालेसँग चुनावी तालमेल गरिएको छ।
यसअघि रुपन्देही–३ मा जनता समाजवादी पार्टीका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले पनि घिमिरेलाई समर्थन गर्ने निर्णय गरिसकेका थिए।
