‘आबाट आमा’को व्यापार चार करोड ८० लाख, ‘द ब्लु लाइट’को तीन लाख १९ हजार !
काठमाडौं । चलचित्र विकास बोर्डले साप्ताहिक बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार दोस्रो सातामा प्रदर्शनरत ‘आबाट आमा’ एक लाख ७६ हजार ५५२ टिकट बिक्री गरेर चार करोड ८० लाख ९० हजारको व्यापार गरेको छ ।
पल शाह, विपना थापा लगायत कलाकारको अभिनय रहेको यस चलचित्रले उत्साहजनक व्यापार गरिरहेको बक्स अफिस रिपोर्टले देखाउँछ ।
त्यस्तै चौथो सातामा प्रदर्शनरत मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ निर्देशित तथा अभिनीत ‘गोबर गणेश’ले ४९ हजार ५३१ टिकेट बिक्री गर्दै एक करोड ४० लाख माथिको व्यापार गरेको छ ।
यस चलचित्रमा अभिनेत्री वर्षा शिवाकोटी पनि मुख्य भूमिकामा छिन् । गत पुस ४ बाट प्रदर्शनमा आएको ‘झरी पछिको इन्द्रेणी’ले एक करोड २९ लाख माथिको ग्रस कलेक्सन गरेको छ ।
‘आबाट आमा’सँगै प्रदर्शनमा आएको अर्पन थापा र बेनिशा हमाल स्टारर ‘द ब्लु लाइट’को व्यापार भने निराशाजनक छ । अहिलेसम्म ८३२ टिकट बिक्री गर्दै यो चलचित्रले ३ लाख १९ हजार ५९५ रुपैयाँ मात्र ग्रस कलेक्सन गर्न सफल भएको छ ।
