कांग्रेसले सरकारको नेतृत्व गर्दा अब कुनै काण्डको चर्चा हुने छैन : गगन थापा

विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका कमजोरीहरूलाई खुला रूपमा स्वीकार गर्दै अब कांग्रेस नयाँ ढंगले अघि बढ्ने बताएका छन्।

कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर आएका थापाले विगतका कमजोरी सच्याएर पार्टीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

विशेष महाधिवेशनपछि पहिलो पटक विराटनगर आएका थापालाई स्वागत गर्न कांग्रेस नेता डा. शेखर कोइराला पनि उपस्थित भएका थिए।

कार्यक्रममा बोल्दै थापाले भने, “ऐना पुछेर होइन, अनुहारकै दाग मेटेर मात्रै नेपाली कांग्रेसको शुद्धीकरण हुन्छ।”

उनले विगतमा निर्वाचन जित्नु र सरकारमा टिकिरहनुलाई मात्र ठूलो सफलता ठान्ने सोच गलत भएको स्वीकार गरे। थापाले भने, “सत्ता प्राप्तिका लागि जोसँग पनि मिल्ने र जे पनि गर्ने प्रवृत्तिले बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता निष्ठावान् नेताहरूले बनाएको पार्टीको छविमा आँच पुगेको छ। अब हामी त्यसो हुन दिनेछैनौँ।”

कम्युनिस्ट पार्टीहरूसँगको अस्वस्थ प्रतिस्पर्धाका कारण कांग्रेसले आफ्नो मौलिक पहिचान गुमाउँदै गएको उनको भनाइ थियो। अदालत तथा संवैधानिक निकायहरूमा दलीय भागबन्डा खोज्ने प्रवृत्तिले ती संस्थाहरूको गरिमा कमजोर बनाएकोमा कांग्रेस पनि कतै न कतै दोषी रहेको उनले स्वीकार गरे।

थापाले भने, “कायरले मात्र आफ्ना कमजोरी लुकाउँछ, तर साहसीले गल्ती स्वीकार गरेर अघि बढ्छ। हामी गल्ती नदोहोर्‍याउने संकल्पका साथ नागरिकका बीचमा नयाँ भरोसा लिएर जानेछौँ।”

कांग्रेस बदलिएको कुरा मात्रले जनतामा उत्साह नआउने उल्लेख गर्दै उनले कांग्रेस रूपान्तरण हुँदा नागरिकको जीवनमा के फरक पर्छ भन्ने ठोस उत्तरसहित कार्यकर्ताहरू टोल–टोलमा पुग्नुपर्ने बताए।

मुलुकलाई पुनः कुनै पनि प्रकारको द्वन्द्वमा फस्न नदिने मुख्य आधार वर्तमान संविधान भएको उल्लेख गर्दै थापाले यसको संरक्षण र पूर्ण कार्यान्वयनमार्फत जनताको समस्या समाधान गर्न कांग्रेस प्रतिबद्ध रहेको बताए।

उनले भने, “देशभरका कार्यकर्तामा नयाँ ऊर्जा सञ्चार भएको छ। यसलाई कोठाभित्र सीमित नराखी प्रत्येक नागरिकको घरदैलोसम्म पुर्‍याउन हामी सबै लाग्नुपर्छ।”

कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।