नक्खु कारागारबाट फरार कैदीद्वारा बालेनको डेरामा चोरी, तीन जना पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बस्दै आएको डेरामा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं–१६ बालाजुका ४२ वर्षीय विष्णुबहादुर राजवाहक, सिन्धुपाल्चोकको लिसंखुपाखर–६ का ४६ वर्षीय खिमबहादुर खड्का र डोटीको दिपायल सिलगढी नगरपालिका–६ का ४५ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन्।

उनीहरूले चप्पल कारखाना क्षेत्रस्थित सितादेवी गुरुङको घरमा रहेको बालेन्द्र शाहको डेरा कोठामा चोरी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउ परेका तीनै जना विभिन्न मुद्दामा संलग्न भई नक्खु कारागारमा कैद भुक्तान गरिरहेका थिए। उनीहरू गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए।

प्रहरीका अनुसार विष्णुबहादुर राजवाहक चोरी समूहका मुख्य व्यक्ति हुन्। उनी चोरीको कसुरमा तीन वर्ष छ महिना कैद भुक्तान गरिरहेका थिए। फरार भएपछि उनी पाँच वटा चोरी घटनामा संलग्न रहेको खुलेको छ।

काठमाडौँ महानगरपालिका–२६ स्थित क्लासिक एण्ड लज इन गेष्ट हाउसको कोठा नम्बर ४०२ बाट वर्ल्डलिंक लेखिएको राउटर, दुई थान सीसी क्यामेरा तथा निर्माणाधीन घरबाट चोरी गरिएका धारा, टुटी, चाँदीका गिलास, कचौरा, दियो र प्लेट बरामद गरिएको प्रहरीले जनाएको छ। साथै एक्रोन गोल्ड लेखिएको निलो बिँड भएको पिलास, सलाई रेन्ची, रेती, स्क्रु र कालो ज्याकेट पनि बरामद गरिएको छ।

खिमबहादुर खड्कालाई माघ २४ गते जडिबुटीबाट पक्राउ गरिएको हो। उनी बैंकिङ कसुरका फरार अभियुक्तसमेत हुन्। उनले बालुवा डिपो सञ्चालन गर्दै चोरीका सामान बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। राजवाहक र खड्काबीच करिब आठ वर्षदेखि चिनजान रहेको र सँगै कामसमेत गरेको खुलेको छ।

खड्काको भक्तपुर ठिमी नगरपालिका–दुवाकोटस्थित घरबाट चाँदीका थाली, कचौरा, रिङ, नटबोल्ट तथा सुनजस्तै देखिने लक्ष्मीको मूर्ति, झुम्का, चन्द्रमा र सिक्री बालाजस्ता गहना बरामद गरिएको प्रहरीले जनाएको छ।

सञ्जय श्रेष्ठलाई भने माघ २४ गते बालाजुबाट पक्राउ गरिएको हो। उनीविरुद्ध यसअघि जबरजस्ती करणीसम्बन्धी मुद्दा चलेको देखिएको प्रहरीले जनाएको छ। रामेछाप कारागारमा रहँदा उनको राजवाहकसँग चिनजान भएको थियो।

धादिङको धुनीबेशी नगरपालिका–७ लप्सेस्थित उनको कोठाबाट प्रहरीले झोला, डेलको ल्यापटप, म्याकबुक प्रो, चार्जर र डीभीआर बरामद गरेको जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।