निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान : प्रधानमन्त्री कार्की

नवलपुर । प्रधानमन्त्री सुशीला कार्कीले यसपटकको निर्वाचनमा करिब ३१ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिएकी छन्।

राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन मंगलबार नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारहरूसँगको कुराकानीमा उक्त जानकारी दिएकी हुन्।

उनले आगामी फागुन २१ गते नै निर्वाचन सम्पन्न गराउन सरकार क्रियाशील रहेको स्पष्ट पारिन्। निर्वाचन सर्ने हल्लाबारे उठेको जिज्ञासामा उनले भनिन्, “निर्वाचन सर्दैन। किन सार्नु र ? अहिले ३१/३२ अर्ब रुपैयाँ खर्च भइरहेको छ। सबै निर्वाचनमा यस्तो हुँदैन। आवश्यक भौतिक साधन र स्रोत जुटाउन ठूलो खर्च भइरहेको छ। विभिन्न देशबाट सहयोग प्राप्त भइरहेको छ। यदि यस्तो अवस्था नआएको भए त्यो सहयोग अन्य क्षेत्रमा प्रयोग हुने थियो।”

प्रधानमन्त्री कार्कीले निर्वाचन जसरी पनि सम्पन्न गरिने र नयाँ जनप्रतिनिधि चयन भएपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गरिने बताइन्।

कुनै स्थानमा विशेष कारणले निर्वाचन रोकिएमा दोस्रो चरणमा भए पनि निर्वाचन सम्पन्न गराइने उनले स्पष्ट गरिन्। हिमाली जिल्लामा चिसोका कारण जटिलता आए सवारी साधन प्रयोग गर्न सकिने स्थानसम्म मतदातालाई ओसारेर भए पनि मतदान गराइने उनको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र निष्पक्ष निर्वाचन गराउन सरकार गम्भीर र सतर्क रहेको दोहोर्‍याइन्।