सहकारी डुबाउनेमाथि कडा कारबाही हुनुपर्छ : मन्त्री इङ्नाम
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा. कुमार इङ्नामले समस्याग्रस्त सहकारीको छिटो छिनोफानो गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको प्रथम वार्षिकोत्सवका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री इङ्नामले केही सहकारीले गैरकानुनी गतिविधि गरेर बचतकर्ता तथा ऋणीलाई समस्यामा पारेको उल्लेख गरे।
उनले समयमै सहकारी नियमन गर्ने निकायले प्रभावकारी भूमिका खेल्न नसकेको र स्वनियमन प्रणाली पनि कमजोर भएकाले केही सहकारी समस्याग्रस्त अवस्थामा पुगेको बताए। स्वनियमनको नाममा कानुन उल्लंघन गरी सहकारी डुबाउनेहरूमाथि कडा कारबाही गर्नुपर्नेमा उनले जोड दिए।
मन्त्री इङ्नामले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै हालको कार्यशैलीले समस्या समाधान गर्न धेरै समय लाग्ने बताए। एकैपटक एक हजारभन्दा बढी व्यवस्थापन समिति गठन गर्न सके पीडितले छिटो न्याय पाउने उनको भनाइ थियो।
गत वर्ष माघ १४ गते स्थापना भएको राष्ट्रिय सहकारी नियमन प्राधिकरणले हालसम्म ५ हजार ३ सय ५० सहकारी दर्ता अभिलेखीकरण प्रक्रियामा रहेको जनाएको छ। प्राप्त उजुरीहरूलाई अध्ययन तथा छानबिन गर्दै समस्या समाधानको प्रक्रिया अघि बढाइएको पनि प्राधिकरणले जानकारी दिएको छ।
