सार्वजनिक बहसका लागि ओलीको चुनौती : ‘एजेण्डा र कामका आधारमा बहस गरौँ’
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको नेतृत्व गर्न चाहने दलका प्रमुख नेताबीच सार्वजनिक बहस (पब्लिक डिबेट) गर्न तयार रहेको घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले चुनावमा होमिएका सबै दलका प्रधानमन्त्रीका उम्मेदवारलाई आमनेसामने बहसका लागि चुनौती दिएका हुन्।
ओलीले देश बनाउने र देश जलाउने पक्षबीच अहिलेको निर्वाचन प्रतिस्पर्धा केन्द्रित भएको उल्लेख गर्दै आफ्नो पार्टी नेकपा (एमाले) देश बनाउने एजेण्डासहित मैदानमा रहेको दाबी गरेका छन्। पछिल्लो समय सार्वजनिक बौद्धिक वृत्तबाट प्रमुख नेताबीच पारदर्शी बहसको माग भइरहेको सन्दर्भ उल्लेख गर्दै उनले यस्तो माग सकारात्मक भएको बताएका छन्।
उनले सामाजिक सञ्जालमा फ्रेमिङ गरेर तयार पारिएका प्रचार सामग्रीमार्फत मतदातालाई भ्रमित पार्ने प्रयास भइरहेको टिप्पणी गरेका छन्। ‘फेसबुक, टिकटकजस्ता माध्यममा बनाइने प्रचार सामग्री देखाएर वास्तविक चरित्र लुकाउने प्रवृत्ति बढेको छ, त्यसैले सार्वजनिक बहस आवश्यक भएको हो,’ ओलीको भनाइ छ।
यसपालिको निर्वाचनमा पुराना दल, अघिल्लो चुनावमा खुलेका दल र भर्खरै स्थापना भएका नयाँ दलसमेत प्रधानमन्त्रीको उम्मेदवार तोकेर मैदानमा आएको उल्लेख गर्दै ओलीले सबै दलका एजेण्डा सार्वजनिक रूपमा छर्लङ्ग हुनुपर्ने बताए। ‘देशको नेतृत्व गर्न खोज्ने दलले के गरे, के गर्न सकेनन् र अब के गर्ने भन्ने विषयमा खुला बहस हुनुपर्छ,’ उनले लेखेका छन्।
ओलीले आफू सार्वजनिक मञ्चमा उभिएर विगतमा एमालेले गरेका काम र आगामी कार्ययोजना प्रस्तुत गर्न तयार रहेको स्पष्ट पारेका छन्। ‘हामीले के गर्यौँ भन्ने तथ्य र अब कसरी काम गर्छौँ भन्ने एजेण्डा म आमनेसामने बहसमा राख्न तयार छु,’ उनले भनेका छन्।
चुनावपछि प्रधानमन्त्रीका उम्मेदवारका रूपमा प्रस्तुत भएका सबै नेताहरूलाई प्रत्यक्ष प्रश्न सोध्न सकिने मञ्चको माग गर्दै ओलीले त्यस्तो पब्लिक डिबेट आयोजना गर्न आग्रह पनि गरेका छन्।
ओली आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट उम्मेदवार छन्। एमालेले उनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ।
