२,६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्र
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ साँझ ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता भएका छन्। तीमध्ये महिलाको संख्या ३०३ मात्र रहेको छ भने पुरुष उम्मेदवार २ हजार ३५२ जना छन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरिसकेकाले उम्मेदवारी दर्ता गर्न पाउनेछन्। कतिपय जिल्लामा भने रातिसम्म उम्मेदवारी दर्ता हुने आयोगले जनाएको छ।
२७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक प्रणालीबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। समानुपातिकतर्फको मनोनयन गत पुस १३ र १४ गते सम्पन्न भइसकेको छ भने प्रत्यक्षतर्फको मनोनयन आज सम्पन्न भएको हो।
यस पटक देशभरीको ध्यान झापा क्षेत्र नं. ५ मा छ । सो क्षेत्रमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन लड्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह राजीनामा दिएर उम्मेदारी दिएका छन् । रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका बालेनले अर्का प्रधानमन्त्रीका प्रवल दावेदार झापा ५ मा आफ्नो चुनावी क्षेत्र भएर सो क्षेबाट चुनाव जित्दै आएका ओलीसँग चुनाव लड्न पुगेपछि देशभरको ध्यान झापामा केन्द्रित भएको हो ।
