रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत १५ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीहरूलाई आदेश दिएको हो। रवि लामिछानेले पनि आफैं वा कानुनी प्रतिनिधिमार्फत जवाफ बुझाउनुपर्ने आदेशमा उल्लेख छ।

युवराज पौडेलले दायर गरेको उत्प्रेषण रिटमा अन्तरिम आदेशबारे तत्काल निर्णय नगरी दुवै पक्षको जिकिर सुन्न आवश्यक देखिएको भन्दै अदालतले २०८२ माघ ८ गते छलफलका लागि पेसी तोकेको छ। सो दिन अभियोगपत्र संशोधनसम्बन्धी निवेदन, पेस भएका प्रमाण र महान्यायाधिवक्ताको निर्णयसहितको सक्कल फाइल अदालतमा पेस गर्न पनि आदेश दिइएको छ।

महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्।