बामदेव गौतम प्रतिनिधिसभा चुनावबाट पछि हटे

काठमाडौं । राष्ट्रिय सभाबाट राजीनामा दिएका नेपाली कम्युनिस्ट पार्टीका नेता बामदेव गौतम प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न सकेनन्।

गौतमले बर्दियाका दुवै क्षेत्रमा बाहुन उम्मेदवार हुने अवस्था आएपछि जनभावना ख्याल गर्दै आफू चुनावी प्रतिस्पर्धाबाट पछि हट्ने निर्णय गरेको बताएका छन्। उनका अनुसार बर्दिया–१ मा थारु समुदायका उम्मेदवार उठाउनुपर्ने निष्कर्षपछि उनले चुनाव नलड्ने निधो गरेका हुन्।

पार्टीले बर्दिया–१ बाट विष्णुप्रसाद थारु र बर्दिया–२ बाट सुरेश पन्तलाई उम्मेदवार बनाएको छ।

राष्ट्रिय सभाको पदबाट राजीनामा दिएर प्रतिनिधिसभा चुनाव लड्ने तयारी गरेका गौतम अन्ततः पछि हटेका हुन्। उनले अन्य कुनै क्षेत्रबाट पनि चुनाव नलड्ने स्पष्ट पारेका छन्।

२०७४ मा बर्दिया–१ बाट पराजित भएपछि गौतम राष्ट्रिय सभामा पुगेका थिए। उनको कार्यकाल आगामी फागुन २० गतेसम्म थियो।

७७ वर्षीय गौतम बहुदल यताका अनुभवी नेता हुन्। उनले २०४८, २०५१ र २०७० मा प्रतिनिधिसभा चुनाव जितेका थिए भने २०५६ र २०६४ मा पराजित भएका थिए।