दुर्गा प्रसाईं पोखराबाट पक्राउ
पोखरा । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’का संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्।
निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाउँदै सार्वजनिक अभिव्यक्ति दिएको तथा सरकारी वेबसाइट ह्याक गरी डाटा चोरी गर्ने योजनामा संलग्न भएको आरोपपछि आयोगको पत्राचारका आधारमा कास्की प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रसाईं सोमबार पोखरामा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका थिए। आयोगको पत्रअनुसार उनलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित गराउन भनिएको छ।
यसअघि प्रसाईंले कांग्रेसको विशेष महाधिवेशन पक्षले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको दाबी गरेका थिए। सोही विषयमा पैसा लगानी गरेर सरकारी वेबसाइट ह्याक गर्ने योजना बनाएको अडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए।
निर्वाचन बहिष्कारदेखि विभिन्न आन्दोलनको घोषणा गर्दै आएका प्रसाईं पछिल्लो समय राजावादी आन्दोलनमा सक्रिय छन्। यसअघि पनि तीनकुने घटनामा उनी पक्राउ परेका थिए।
