मनोनयनमा तडकभडक नगर्न निर्वाचन आयोगको चेतावनी
काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका क्रममा बाजागाजा तथा तडकभडक नगर्न चेतावनी दिएको छ।
प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै कानुन र आचारसंहिताले त्यस्ता गतिविधि पूर्ण रूपमा निषेध गरेको स्पष्ट पारे।
उनले आचारसंहिता उल्लंघन गर्नेविरुद्ध आयोगले कडा निर्णय लिने चेतावनी दिँदै निष्ठापूर्वक आचारसंहिता पालना गर्दै मनोनयन पत्र दाखिल गर्न आग्रह गरे।
भण्डारीले आगामी निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा हुने दाबी गर्दै निर्वाचनप्रति कुनै शंका गर्नुपर्ने अवस्था नरहेको बताए।
