तीन नेपाली फिल्म हलमा प्रदर्शनमा

काठमाडौँ । माघे संक्रान्तिको अवसर पारेर एकसाथ तीन नेपाली फिल्म हलमा प्रदर्शनमा आएका छन्। बिहीबारदेखि ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ दर्शकमाझ आएका हुन्।

बल्छी धुर्वे (मरिचमान श्रेष्ठ)को निर्देशनमा बनेको ‘गोबर गणेश’ले आम नागरिकको काठमाडौँ पुग्ने सपनाको कथा प्रस्तुत गर्ने प्रयास गरेको छ। १४० मिनेट रनटाइम रहेको यो फिल्मले देशभर ११२ शो पाएको छ। बल्छी धुर्वे फिल्म्सको प्रस्तुति रहेको यस फिल्ममा बल्छीसँगै वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी लगायत कलाकारहरूको अभिनय छ।

त्यसैगरी, यम शेर्पाको निर्देशनमा बनेको ‘मिरमिरे’ले बाबुछोरीसहितको त्रिकोणात्मक सम्बन्धको कथा भन्छ। दयाहाङ राई, प्रकाश सपुत र सिर्जना निङलेखु मुख्य भूमिकामा रहेको यस फिल्मले पहिलो दिनका लागि १३० शो पाएको छ। यम शेर्पाकै कथामा बनेको फिल्ममा माओत्से गुरुङ, भोलाराज सापकोटा, छुल्ठिम गुरुङ, शाइसा गौचनलगायत कलाकारहरूको पनि अभिनय रहेको छ।

सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको ‘भाइरल गोर्खे’ पनि बिहीबारदेखि प्रदर्शनमा आएको छ। निगम श्रेष्ठको निर्देशनमा बनेको कमेडी जनराको यस फिल्मले सामाजिक सञ्जालमा भाइरल बन्ने प्रवृत्तिमाथि व्यङ्ग्य गरेको छ। फिल्ममा सौगात र सृष्टिसहित बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल, मिस पवीलगायत कलाकारहरूको अभिनय छ। यस फिल्मले पहिलो दिन हलहरूमा १०७ शो पाएको छ।