गगन र विश्वलाई कारबाही, अन्य नेतालाई आ–आफ्नो भूमिकामा फर्किन कांग्रेसको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले तीन जना पदाधिकारीबाहेक पार्टीका अन्य सबै नेता–कार्यकर्तालाई आ–आफ्नो जिम्मेवारी र भूमिकामा फर्किन आह्वान गरेको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मंसूरमाथि कारबाही गर्ने निर्णय गरेको हो।

पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको आरोप लगाउँदै उनीहरूमाथि कारबाही गरिएको जनाइएको छ। पार्टी संस्थापन पक्षका अनुसार केन्द्रीय समितिको निर्णय बेवास्ता गर्दै विशेष महाधिवेशन आह्वान गर्नु पार्टी विधानविपरीत ठहरिएको छ।

बैठकले कारबाहीमा परेका तीन पदाधिकारीबाहेक पार्टीका अन्य सबै नेतालाई पार्टीको नियमित गतिविधि र जिम्मेवारीमा फर्किन आग्रह गरेको एक नेताले जानकारी दिए।

यसै बैठकले पार्टीको १५औँ नियमित महाधिवेशनका लागि नयाँ कार्यतालिका ल्याउने प्रस्ताव पनि अनुमोदन गरेको छ। १८ पुसमा बसेको कार्यसम्पादन समितिको बैठकले आगामी वैशाखमा १५औँ महाधिवेशन सम्पन्न गर्ने गरी नयाँ कार्यतालिका ल्याउने निर्णय गरेको थियो, जसलाई बुधबारको केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेको हो।

बुधबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सानेपामा बसेको बैठकले नियमित महाधिवेशनको तालिका सार्वजनिक गर्ने प्रस्ताव पारित गरेको नेताहरूले बताएका छन्।