परम्परागत ढंगले अहिलेको परिस्थितिको सामना गर्न सकिँदैन : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश असाधारण परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै परम्परागत राजनीतिक संस्कार र चल्तीका अभ्यासले मात्रै वर्तमान चुनौतीको सामना गर्न नसकिने बताएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले नयाँ विचार, नयाँ कार्यक्रम र नयाँ पहलकदमीमार्फत मात्रै मुलुकमा देखिएको राजनीतिक संकटको सामना गर्न सकिने बताए। उनका अनुसार सबै राजनीतिक दलहरूले विगतका कमजोरीहरूप्रति आत्मसमीक्षा गर्न अब अपरिहार्य भइसकेको छ।
प्रचण्डले नेकपाले आफ्ना विगतका कमजोरीहरूको समीक्षा गर्दै तिनलाई सच्याउने र रूपान्तरणको मार्गमा अघि बढ्ने संकल्प लिइसकेको दाबी गरे। देशले भोगिरहेको जटिल अवस्थामा राष्ट्रिय एकता सुदृढ गर्ने र राष्ट्रिय स्वाधीनतालाई मजबुत बनाउने उद्देश्यका साथ पार्टी एकता प्रक्रियालाई अघि बढाइएको उनले दोहोर्याए।
उनले भने, ‘परम्परागत ढंगले, चल्तीका अभ्यासले मात्रै अहिले मुलुकमा उत्पन्न परिस्थितिको सामना गर्न सकिँदैन। राष्ट्र असाधारण अवस्थाबाट गुज्रिरहेको यस समयमा देशलाई अझ एकताबद्ध बनाउने, राष्ट्रिय एकता सुदृढ गर्ने र राष्ट्रिय स्वाधीनतालाई मजबुत पार्न नितान्त नयाँ संकल्पसहित पहलकदमी लिन आवश्यक छ भन्ने निष्कर्षका साथ हामी पार्टी एकता प्रक्रियामा अघि बढेका हौँ।’
मुलुकमा देखिएको राजनीतिक तथा सामाजिक संकटको सामना गर्नकै लागि २० भन्दा बढी कम्युनिष्ट घटकलाई एक ठाउँमा ल्याइएको पनि उनले जिकिर गरे।
