बालेन लचक देखिए पनि रविको अडानले कुलमानसँगको वार्ता टुंगोमा पुगेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आइतबार राति भएको निर्णायक भनिएको छलफल निष्कर्षविहीन बनेको छ।

आइतबार रातिको वार्ता ठोस नतिजामा नपुगेको बालेन निकट एक नेताले जानकारी दिए। उनका अनुसार सोमबार पनि वार्ता निरन्तरता दिने सहमति भएको छ।

ती नेताका भनाइअनुसार कुलमान घिसिङ र उनको पार्टीलाई रास्वपामा समेट्ने विषयमा बालेन निकै लचक देखिएका थिए। तर रास्वपा सभापति रवि लामिछानेले शक्ति सन्तुलनलगायत केही प्राविधिक विषयमा कडा अडान लिएपछि निर्णायक निर्णय पछि धकेलिएको हो।

‘सोमबारसम्म कुलमानजीलाई समेट्न अन्तिम प्रयास गर्ने सहमति भएको छ,’ ती नेताले भने, ‘महानगर पक्षबाट कुलमानलाई ल्याउनैपर्ने दबाब छ। रास्वपातर्फ पनि त्यही इच्छाशक्ति देखियो भने असम्भव केही छैन।’

यसैबीच जेनजी अभियानका एक अगुवा सुदन गुरुङले मध्यराति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै जसरी पनि कुलमान घिसिङलाई समेट्न आग्रह गरेका छन्। अन्यथा आफूले पक्ष लिनुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत उनले दिएका छन्।

उता, आइतबार राति बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले रवि लामिछाने र बालेन्द्र शाहबीच भएको सहमति अनुमोदन गरिसकेको बताइएको छ।