मधेशका दुई प्रमुख शक्ति फेरि एकजुट, चुनाव चिन्ह छाता, पार्टी नाम टुंगो लाग्न बाँकी
काठमाडौं । समानुपातिकतर्फको बन्दसूची बुझाउने समयसीमा एक दिन मात्र बाँकी रहँदा आइतबार तराई–मधेशका दुई प्रभावशाली राजनीतिक शक्ति एकतामा जुटेका छन्।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपालबीच आइतबार साँझ औपचारिक रूपमा एकता घोषणा गरिएको हो। नेताहरूका अनुसार केही महिनादेखि चलिरहेको आन्तरिक तयारीपछि यो निर्णयमा पुगेका हुन्।
जारी संयुक्त वक्तव्यमा देशको वर्तमान राजनीतिक अवस्थाको मूल्यांकन गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्यायलगायतका मुद्दालाई अझ मजबुत बनाउँदै न्यायपूर्ण समाज निर्माण गर्ने लक्ष्यसहित दुवै पार्टी एकीकृत हुने निर्णय गरिएको उल्लेख छ।
तर एकीकृत पार्टीको नाम, चुनाव चिन्ह र नेतृत्व संरचनाबारे भने वक्तव्यमा स्पष्ट पारिएको छैन। उपेन्द्र यादव निकट स्रोतका अनुसार आ–आफ्ना अडानबाट लचकता अपनाउँदै एकताको घोषणा गरिएको हो, केही विषय टुंगिन बाँकी रहेकै अवस्थामा पनि।
दुवै पार्टीको विगत साझा भएकाले बाँकी निर्णयमा ठूलो समस्या नआउने नेताहरूको विश्वास छ। एक नेताका अनुसार महन्थ ठाकुर सर्वोच्च नेता र उपेन्द्र यादव कार्यकारी नेतृत्वमा यसअघि पनि पार्टी एकीकृत भइसकेको थियो र त्यसबेला पार्टीको नाम र चुनाव चिन्ह पनि एउटै थियो।
यद्यपि, यसपटक पार्टीको नाम के राख्ने भन्ने अझै छलफलमै रहेको बताइन्छ। तर चुनाव चिन्हबारे भने सहमति भइसकेको जसपा नेता मनिष सुमनले जानकारी दिए। उनका अनुसार आगामी निर्वाचनका लागि ‘छाता’ चिन्हमै बन्दसूची बुझाइनेछ। २०७७ वैशाखमा भएको एकतामा पनि यही चिन्ह प्रयोग गरिएको थियो।
तर त्यो एकता लामो समय टिक्न सकेन। २०७८ भदौमा महन्थ ठाकुर नेतृत्वमा लोसपा गठन भयो र त्यसले ‘साइकल’ चिन्ह लियो। २०७९ को निर्वाचनमा दुई दल अलग–अलग गठबन्धनमा सहभागी हुँदा मधेशमा उनीहरूको राजनीतिक शक्ति कमजोर बन्न पुग्यो।
जसपाले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा लोसपा कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल भएको थियो। त्यसको परिणामस्वरूप मधेशमा एमाले र कांग्रेसको प्रभाव बढ्यो। १६ वर्षपछि मधेशमा एमाले पहिलो र कांग्रेस दोस्रो शक्ति बने।
२०६४ सालको मधेश आन्दोलनपछि स्थापित जसपा तेस्रो र लोसपा पाँचौँ स्थानमा सीमित भए। नेताहरूका अनुसार यही चुनावी परिणामले पुनः एकताको आवश्यकता महसुस गराएको हो। मधेशी जनताको चाहना पनि मिलेरै अघि बढ्नुपर्ने रहेको उनीहरू बताउँछन्।
यस क्रममा जेनजी आन्दोलनले समेत एकताको प्रक्रियालाई थप ऊर्जा दिएको नेताहरूको भनाइ छ। यद्यपि, एकतालाई दीगो बनाउने तयारी यसअघि नै भइरहेको उनीहरूको दाबी छ।
नेताहरूले समानुपातिक मात्र होइन, प्रत्यक्ष निर्वाचनमा पनि ‘छाता’ चिन्हबाट प्रतिस्पर्धा गर्ने सहमति गरेका छन्। यसरी उपेन्द्र यादव र महन्थ ठाकुर समूहका नेताहरू पहिलोपटक एउटै चुनाव चिन्हबाट चुनाव लड्ने भएका छन्।
नेतृत्व संरचनामा पनि सहमति जुटिसकेको बताइएको छ। उपेन्द्र यादव र महन्थ ठाकुर समान हैसियतका अध्यक्ष रहने, समिति एकीकरणदेखि उम्मेदवार चयनसम्म समान सहभागिता रहने सहमति भएको छ।
यसैबीच मधेशका अन्य राजनीतिक शक्तिसँग पनि एकताको प्रयास भइरहेको नेताहरूले बताएका छन्। विशेषगरी सीके राउतसँग सहकार्य र एकताको पहल अगाडि बढाइएको जनाइएको छ। समान सिद्धान्त र उद्देश्य भएका शक्तिहरू एकजुट भएर अघि बढ्ने तयारी भइरहेको उनीहरूको भनाइ छ।
