पूर्व राज्यमन्त्री तामाङको कान्छाराम कन्स्ट्रक्सनसहित पाँच कम्पनी कालोसूचीमा
काठमाडौं । पूर्व ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)को स्वामित्वमा रहेको कान्छाराम कन्स्ट्रक्सन कालोसूचीमा परेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्स्ट्रक्सनलाई डेढ वर्षका लागि कालोसूचीमा राखेको हो। ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना समन्वय एकाइ श्रीमहल, ललितपुरको सिफारिसका आधारमा उक्त निर्णय गरिएको कार्यालयले जनाएको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा पुस १३ गते कालोसूचीमा राख्ने निर्णय गरिएको भए पनि कालोसूचीको अवधि भने सूचना प्रकाशित भएको मिति पुस १४ गतेदेखि लागू भएको छ।
कान्छाराम कन्स्ट्रक्सनसँगै चीनको छोङ्गिङ इन्टरनेसनल कन्स्ट्रक्सन कर्पोरेसन पनि डेढ वर्षका लागि कालोसूचीमा परेको छ।
यस्तै, नेपाल खानेपानी संस्थान शाखा कार्यालय पोखराको सिफारिसमा धनुषास्थित ड्रैगन कन्स्ट्रक्सन प्रालि पनि डेढ वर्षका लागि कालोसूचीमा परेको छ। उक्त कम्पनीका मुख्य व्यक्ति बैजनाथ यादव रहेका छन्।
त्यसैगरी, उदयपुरको रौतामाई गाउँपालिकाको सिफारिसमा धनुषाको सिङ्दान सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालि र सिन्धुपाल्चोकको विशाल निर्माण सेवा एक–एक वर्षका लागि कालोसूचीमा परेका छन्।
सिङ्दान सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिका मुख्य व्यक्ति रमेश कुमार सिङ्दान हुन् भने विशाल निर्माण सेवाका मुख्य व्यक्ति श्याम कुमार गलान रहेका छन्।
