हर्क साम्पाङको आरोप : ‘विदेशी हस्तक्षेप संस्थागत गर्न रवि–बालेन सम्झौता’

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेनबीच भएको सम्झौताको कडा आलोचना गरेका छन्। उनले उक्त सम्झौता सत्ताकै लागि गरिएको र देशमा विदेशी हस्तक्षेपलाई संस्थागत गर्ने उद्देश्य बोकेको आरोप लगाएका छन्।

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै साम्पाङले भने, “कुर्सीकै लागि र यो देशलाई लिलाम गर्नका लागि यस्तो सहमति गरिएको हो।” उनका अनुसार विदेशी प्रभाव नेपालमा प्रत्यक्ष रूपमा देखिन थालिसकेको छ र अहिले त्यसलाई औपचारिक रूप दिन खोजिएको छ।

साम्पाङले आफ्नो भनाइमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाम भने उल्लेख गरेका छैनन्। तर उनले जेन–जी आन्दोलनको सन्दर्भ उठाउँदै बालेनतर्फ लक्षित टिप्पणी गरेका छन्।

उनले आन्दोलनको समयमा देश अशान्त बन्दा समेत नेतृत्वले सक्रिय भूमिका नखेलेको आरोप लगाउँदै “भित्रै बसेर डरलाग्दो खेल खेल्ने” र “लुकेर बस्ने” व्यवहार देखिएको दाबी गरेका छन्। उनका अनुसार युवालाई आन्दोलनमा उक्साएर अगाडि पठाइयो तर अवस्था गम्भीर हुँदा नेतृत्व बाहिर नआएको आरोप छ।

“जेन–जीलाई उक्साएर भिडन्तमा पठाइयो, दर्जनौँ मानिस हताहत भए, देश जलेको टुलुटुलु हेरेर बसियो,” साम्पाङले भिडियो सन्देशमा बताएका छन्। सरकार सञ्चालनका लागि सहयोग माग्दा समेत बेवास्ता गरिएको उनको आरोप छ।

यसैगरी साम्पाङले एमसीसीको सन्दर्भ उठाउँदै रास्वपा नेतृत्वप्रति पनि संकेतपूर्ण आलोचना गरेका छन्।