महामन्त्रीमै उम्मेदवारी दिने प्रदीप पौडेलको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी महाधिवेशनमा महामन्त्री पदमै उम्मेदवारी दिने घोषणा गरेका छन्।

बिहीबार धुम्बाराहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पौडेलले १४औँ महाधिवेशनमा पनि आफू महामन्त्रीमा उम्मेदवार बनेको स्मरण गराए। उक्त चुनावमा सफलता नपाए पनि अब महामन्त्रीभन्दा तल्लो पदमा जाने अवस्था नरहेको उनले बताए।

‘मैले अघिल्लो महाधिवेशनमा महामन्त्रीमै चुनाव लडेको हुँ। त्यसपछि अब महामन्त्रीभन्दा तल जाने कुरा हुँदैन,’ उनले भने, ‘महामन्त्रीभन्दा माथि जाने परिस्थिति पनि बनेको छैन। त्यसैले महामन्त्रीमै आफूलाई प्रस्तुत गर्ने सोच बनाएको हुँ।’

कांग्रेसभित्रका धेरै नेता तथा कार्यकर्ताबाट पनि यही पदमा उम्मेदवारी दिन सुझाव आएको उनले बताए। ‘साथीहरू धेरैले पनि महामन्त्रीमै लड्नुस् भनेर सल्लाह दिनुभएको छ,’ पौडेलले भने।