रविसँग कुरा नमिलेपछि जेनजी समेटेर देश विकास पार्टीको नेतृत्व गर्दै बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र रास्वपा सभापति रवि लामिछानेबीच करिब अढाइ घन्टा वान–टु–वान वार्ता भए पनि ठोस सहमति जुटेन । सोमबारको वार्ता सहमति नजिक पुगेको बताइएको थियो । सो दिन अबको प्रधानमन्त्री उम्मेदवार वालेन हुने र त्यसपछि अर्को चुनावमा रवि हुने भन्ने सहमति भएको चर्चा भएको थियो ।

रविले मंगलवार चितनवमा आयोजित कार्यक्रममा सहमति भइनसकेको बताएपछि वालेन रविसँग असन्तुष्ट देखिएका छन् । रविले भित्र एउटा र बाहिर अर्को कुरा गरेको भन्दै अब आफ्नै नेतृत्वमा देश विकास पार्टी अघि बढाउन विभिन्न नेता, कलाकार, पत्रकार, उद्योगी व्यसायीका साथै जेनजी युवाहरुसँग वार्ता अघि अघि बढाएका छन् ।

मेयर शाहले निरन्तर राजनीतिक संवाद चलाएका छन् । आजै मात्र उनले रास्वपा सभापति रवि लामिछानेदेखि अन्य दलका नेता एवं निवर्तमान सांसदसँग छलफल गरेका छन् ।

बालेनलाई भेट्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि पुगेका छन् । आजै मेयर शाह, ऊर्जामन्त्री कुलमान घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच पुन: छलफल हुने बताइएको छ ।

बालेनसँग भेटेर फर्केपछि बाबुरामले नयाँ र वैकल्पिक शक्तिहरू मिलेर जान सुझाएको बताए । भेटबाट बाहिरिँदै सञ्चारकर्मीहरूसँग भने, ‘म नयाँ र वैकल्पिक शक्तिहरू एक भएर जानुपर्छ भन्ने मान्छे, म निरन्तर त्यसमा लागेको छु, त्यही विषयमा परामर्श गर्न बालेनजीले बोलाउनुभएकाले आएको हुँ । उहाँलाई मेरो सुझाव छ- तपाईँहरू नयाँ र वैकल्पिक भनिएकाहरू जतिपनि हुनुहुन्छ मिल्नुस् भन्ने रह्यो ।’

रवि र बालेनबीच बिहीबार अपराह्नसम्म अढाई घण्टा चलेको भेटमा सम्भावित एकता प्रक्रियाबारे कुरा भएको बुझिएको छ ।

यसका लागि रविले लचकतापूर्वक पार्टीको नाम, चुनाव चिह्न, उम्मेदवार अनुपात आदिबारे कुरा राखेका थिए । स्रोतका अनुसार उनले पार्टीका साथीहरुसँग सल्लाह गरेर नन्पेपर प्रिन्ट गरेर बालेन भेट्न गएका थिए, जसमा उम्मेदवारीको प्रतिशत लगायत विषय उल्लेख छन् ।

रविले रास्वपामा यसअघि नै पर्याप्त आकांक्षी रहेकाले ७०–३० को अनुपातमा समानुपातिक उम्मेदवार सूची तयार पार्नुपर्ने प्रस्ताव गरे । त्यसमा सल्लाह गरे संख्या अनुपात तलमाथि गर्न सकिने उनको प्रस्ताव थियो ।

वालेन आफ्नै पार्टीको नेतृत्व गर्दै अघि बढ्ने संकेत पाएपछि रवि आज पुनः वार्ताका लागि पुगेका थिए । वार्तापछि रविले कुनै प्रतिक्रिया दिन चाहेनन् । जसले गर्दा उनीहरुबीचको वार्ता सकारात्मक नभएको बुझ्न सकिन्छ ।

रविसँग कुरा नमिलेपछि बालेनले जेन–जीसहित वैकल्पिक शक्तिलाई समेट्दै आफ्नै पार्टी अघि बढाउने तयारी तीव्र पारेका छन्। जेन–जीसँग समन्वय गर्ने जिम्मेवारी रक्षा बमलाई दिएका छन् भने आफूले हर्क साङपाङ, गोपी हमाललगायतलाई मिलाउने बताएका छन् । बालेनले गणतन्त्र, लोकतन्त्र र संघीयताको पक्षमा स्पष्ट धारणा राखेपछि बम पनि उनीसँग सहकार्य गर्न तयार भएकी छन्।

उनले आजै जेनजी अगुवाहरुसँग साहिक वार्ता समेत गरेका छन् । ललितपुरको कुुपण्डोलस्थित आफ्ना सहयोगी कुमार बनेको घरमा बिहीबार जेनजी प्रतिनिधिहरुसँग सामूहिक छलफल गर्दै पहिले सबै मिलेर आउन आग्रह गरेका थिए ।

जेनजी युवाहरुले परिवर्तन चाहने सवै शक्ति मिल्नुपर्ने बताएपछि बालेनले ‘तपाईंहरू एक ठाउँ आउनुहोस्, एकता त्यहाँबाट सुरु हुन्छ’ भनेको जेनजी अभियन्ता योगेन्द्र भण्डारीले बताएका छन् ।

बालेनसँगको छलफलमा जेनजी प्रतिनिधिहरू सुदन गुरुङ, रक्षा बम, पुरुषोत्तम यादव लगायत उपस्थित भएका थिए ।