पूर्णबहादुर खड्का नाममात्रका कार्यवाहक, सबै शक्ति देउवाकै हातमा : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई दिइएको कार्यवाहक सभापतिको जिम्मेवारी नाममात्रको भएको टिप्पणी गरेका छन् । उनका अनुसार पार्टीको वास्तविक शक्ति अझै पनि सभापति शेरबहादुर देउवाकै हातमा केन्द्रित छ ।
बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सभापतिले औपचारिक रूपमा कार्यवाहक तोके पनि अधिकार हस्तान्तरण नगरेको बताए । “सभापतिले कार्यवाहक दिनुभएको छ, तर त्यो नाममात्रको हो,” उनले भने, “आजको बैठकमा उहाँ उपस्थित हुनु भएन, तर सबै शक्ति उतै—देउवाकै हातमा छ।”
गत असोज २८ गतेको केन्द्रीय समिति बैठकको उद्घाटन सत्रमा देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । भदौ २४ गते जेनजी आन्दोलनकारीको आक्रमणमा परेपछि देउवा दम्पती उपचारका लागि विदेश गएका थिए ।
विदेशबाट करिब एक महिनापछि फर्किँदा पनि कांग्रेसको केन्द्रीय समिति बैठक जारी नै थियो । त्यसपछि देउवा पुनः पार्टी राजनीतिमा सक्रिय भएका छन् । हाल उनी अन्य राजनीतिक दलका नेतृत्वसँग संवाद, सरकारसँग छलफल र राष्ट्रपतिसँग भेटघाटमा समेत सक्रिय देखिएका छन् ।
