राष्ट्रपतिको पहलमा प्रधानमन्त्री र तीन शीर्ष नेताबीच भेटवार्ता, निर्वाचनबारे वालुवाटारमा छलफल हुने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आज शीतलनिवासमा बसेको प्रधानमन्त्री र प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीचको बैठक सम्पन्न भएको छ । बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल बनाउन आवश्यक वातावरण निर्माण गर्ने समझदारी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
मंगलबार अपराह्न राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालबीच छलफल भएको थियो ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार निर्वाचनको वातावरण निर्माणसम्बन्धी विषयमा थप विस्तृत छलफल बालुवाटारमा गर्ने सहमति पनि बनेको छ ।
बैठकमा राष्ट्रपति पौडेलले देशको वर्तमान अवस्था गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै यसको निकासका लागि निर्वाचन अपरिहार्य रहेको बताए । “यही गम्भीरतालाई ध्यानमा राखेर निर्वाचनलाई सफल बनाउनु हामी सबैको साझा दायित्व हो,” उनले भने ।
देशको जटिल राजनीतिक अवस्थाबाट बाहिर निस्कन निर्वाचन नै उपयुक्त विकल्प भएको बताउँदै राष्ट्रपति पौडेलले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन सफल बनाउन प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूलाई सहयोग र प्रतिबद्धता जनाउन आग्रह गरेका थिए ।
