तत्कालीन गृहसचिव, आईजीपी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा

काठमाडौं । जाँचबुझ आयोगले तीन जना उच्च अधिकारीको स्थानहद फुकुवा गरेको छ ।

आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको स्थानहद हटाएको हो ।

आयोगका उपसचिव कमलप्रसाद पाण्डेद्वारा पठाइएको पत्रमा उनीहरूको स्थानहद फुकुवा गरिएको तथा आवश्यक परे विदेश भ्रमण गर्नसमेत अनुमति रहेको उल्लेख गरिएको छ ।

उनीहरूको बयान प्रक्रिया पूरा भएकाले स्थानहद फुकुवा गरिएको आयोगले जनाएको छ । यसअघि गुप्तचर विभागका तत्कालीन प्रमुख हुतराज थापाको बयान सकिएपछि उनको पनि स्थानहद फुकुवा गरिएको थियो ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाबारे छानबिनका लागि उनीहरूलाई स्थानहद तोकिएको थियो ।