सरकारी टोलीद्वारा कांग्रेस, एमाले र नेकपाका पार्टी कार्यालयको अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएका तीन राजनीतिक दलका पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ ।

सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय कार्यालयमा पुगेर क्षतिको अवस्थाबारे अनुगमन गरेको हो ।

अनुगमन टोलीमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाललगायत सहभागी थिए ।

टोलीले कांग्रेस केन्द्रीय कार्यालयमा उपसभापति धनराज गुरुङ, एमाले कार्यालयमा महासचिव शंकर पोखरेल तथा माओवादी केन्द्रको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरूसँग छलफल गरेको छ ।

जेनजी आन्दोलनका क्रममा क्षति पुगेको कार्यालयको निरीक्षणपछि वार्ता टोलीले एमाले महासचिव शंकर पोखरेललगायतका नेताहरूसँग छलफल गरेको हो ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले निर्वाचनमा सहभागी हुने विषयमा एमालेले सकारात्मक धारणा राखेको बताए । “निर्वाचन आयोग आफ्नो जिम्मेवारीमा सक्रिय छ, सुरक्षा निकायहरू पनि उच्च मनोबलका साथ परिचालित छन्,” उनले भने, “निर्वाचनको वातावरण बनाउन एमालेले भूमिका खेलिदिनुपर्छ, हामी निर्वाचनमा सहभागी हुन्छौँ भन्ने कुरा पार्टीका महासचिवले स्पष्ट रूपमा राख्नुभएको छ ।”

स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । “निर्वाचन प्रचारप्रसार र अभियानका क्रममा कुनै पनि नेता वा कार्यकर्तालाई अवरोध नआओस् भन्ने सुनिश्चितता सरकारले गर्नेछ,” मन्त्री खरेलले भने, “नेताहरू सहज रूपमा मत माग्न जान पाउने वातावरण बनाउने हाम्रो दायित्व हो ।”

जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकसहित केही नेताहरूलाई स्थानहद लगाई काठमाडौँ बाहिर जान रोक लगाएको विषयमा पनि एमाले नेताहरूले वार्ता टोलीसँग जिज्ञासा राखेका थिए ।

यस विषयमा मन्त्री खरेलले सरकार कानून, अधिकार क्षेत्र र प्रक्रियाभित्र रहेर आवश्यक वातावरण मिलाउन तयार रहेको स्पष्ट पारे । “आयोगको काममा नकारात्मक असर नपर्ने गरी सरकार अघि बढ्छ,” उनले भने, “तर निर्वाचनमा सहभागी हुन उठाइएका जायज मागहरूलाई पनि बेवास्ता गर्न सकिँदैन ।”