मुलुकभर निर्वाचनको वातावरण बनिरहेको छ : सञ्चारमन्त्री खरेल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मुलुकभर निर्वाचनको वातावरण बनिरहेको दाबी गरेका छन्।
आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारको सय दिने कार्यसम्पादनबारे जानकारी गराउँदै मन्त्री खरेलले राजनीतिक दल, निर्वाचन आयोग, सरकार र जनता सबै तहमा निर्वाचनको माहोल सिर्जना भइसकेको बताए। ठूला राजनीतिक दलहरूले निर्वाचनको वातावरण बनाउन नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
मन्त्री खरेलले आगामी फागुन २१ गते निर्वाचन हुने वातावरण बन्दै गएको उल्लेख गर्दै सुशासनलाई आत्मसात गर्दै प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सरकारले काम अघि बढाइरहेको बताए। साथै भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा पनि सरकारले आवश्यक पहल गरिरहेको उनको भनाइ छ।
सरकार जेन–जी आन्दोलनको मर्मअनुसार अघि बढिरहेको दाबी गर्दै मन्त्री खरेलले वर्तमान सरकार नागरिक केन्द्रित रहेको उल्लेख गरे। ‘मुलुक अहिले चुनावमा होमिसकेको अवस्था छ,’ उनले भने, ‘सबै राजनीतिक दल, निर्वाचन आयोग, सरकार र जनता सबैतिर निर्वाचनको वातावरण छाएको छ।’
त्यस अवसरमा मन्त्री खरेलले आफूले सय दिनको अवधिमा उल्लेखनीय कामहरू सम्पादन गरेको दाबीसमेत गरेका छन्।
