मधेश प्रदेश सभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्।
आज बसेको मधेश प्रदेश सभा बैठकमा मत विभाजनमार्फत सम्पन्न निर्वाचनमा सातदलीय गठबन्धनका उम्मेदवार यादवले ७२ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएका हुन्। विपक्षमा २४ मत परेको थियो। आजको बैठकमा कुल ९६ सांसद उपस्थित थिए।
सभामुखको आसनमा रहेकी उपसभामुख बबिता राउत इशरले यादव निर्वाचित भएको औपचारिक घोषणा गरेकी हुन्। यादवलाई सभामुख पदमा निर्वाचित गर्न नेपाली कांग्रेसका सांसद विरेन्द्र प्रसाद सिंहले प्रस्ताव प्रस्तुत गरेका थिए।
सुरुमा ‘रामअशिष यादवलाई सभामुखमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएपछि सभामुखका अर्का प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार त्रिलोकी प्रसाद यादवको प्रस्ताव अघि नबढाइएको जनाइएको छ।
सभामुखमा निर्वाचित यादव धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनी यसअघि जसपा नेपालका प्रमुख सचेतकको जिम्मेवारी सम्हाल्दै आएका थिए।
यसअघि नेकपा एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डललाई सातदलीय गठबन्धनले पदअनुकूल आचरण नगरेको आरोप लगाउँदै गत मंसिर ३ गते दुई तिहाई बहुमतका साथ पदमुक्त गरेपछि सभामुख पद रिक्त रहेको थियो।
