एमालेमाथि हात हाले देश ठप्प पार्ने, सरकार ढाल्छौँ अध्यक्ष ओलीको चेतावनी

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टी नेतृत्वमाथि हाल हाले देश ठप्प पार्ने चेतावनी दिएका छन् ।

तेस्रो कार्यकालका लागि अध्यक्ष पदको शपथग्रहण गरे लगत्तै सम्बोधन गर्दै पार्टीका नेता कार्यकर्तालाई आन्दोलनको तयारीमा रहन निर्देशन दिए ।

उनले भने, ‘एमाले नेतृत्वमाथि भौतिक अनेक प्रकारको जालझेल भए, भौतिक आक्रमणको प्रयास, जाली झूटा मुद्दा लगाउने हल्ला मच्चाइएको छ । म भन्न चाहन्छु, एमाले नेतृत्वलाई छोएको दिन देश ठप्प हुनुपर्छ । यो सरकार ढाल्नुपर्छ ।’ एमालेलाई छुने र जिस्काउने काम नगर्न ओलीले चेतावनी दिए ।

अध्यक्ष ओलीले सरकार र जेनजीबीच भएको सम्झौता अवैधानिक रहेको दोहोर्‍याएका छन् । उनले यो सम्झौता एमालेले कार्यान्वयन हुनै नदिने दाबी गरे ।

ओलीले सरकार–जेनजी सम्झौता कलाविहीन भद्दा नाटक भएको टिप्पणी गरे ।

ओलीले भने, ‘यो सरकारसँग संविधानलाई चलाउने कुनै अधिकार छैन । सरकार र जेनजीबीचको सम्झौता लागू हुन सक्दैन । एमालेले लागू हुन दिँदैन । कि चुनावको तयारी गर, नत्र बाटो लाग्दा हुन्छ ।’

तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलगायत समायोजनपछि बनेको नेपाली कम्युनिस्ट पार्टीको गठनलाई उनले नाटकको संज्ञा दिए ।

आज पार्टी अध्यक्षमा पुन:निर्वाचित भएपछि सम्बोधन गर्दै ओलीले नेता पुष्पकलम दाहाल प्रचण्डलाई पार्टीको नाम घाँडो भइरहेको अवस्थामा पार्टी एकीकरण गरेको बताए । त्यस्तै उनले एकीकृत समाजवादीबाट नेकपामा समायोजित नेता माधवकुमार नेपाललाई पार्टी घाँडोको अवस्थामा रहेको टिप्पणी गरे ।

प्रचण्ड र माधव नेपाल दुवै नेताले पार्टी एकताको नाटक गरेको भन्दै ओलीले कटाक्ष गरे ।