दुर्गा प्रसाईंसँग वार्ताका लागि सरकारले गठन गर्‍यो समिति

काठमाडौँ। दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालसँग वार्ता गर्न सरकारले औपचारिक समिति गठन गरेको छ।

महाअभियानसँग वार्ता र सहजीकरणका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको संयोजकत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति बनाइएको हो। समितिका सदस्यमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना रहेका छन्।

समिति गठनबारे जानकारी गराउँदै प्रधानमन्त्रीको स्वकीय सचिवालयले दुर्गा प्रसाईंलाई पत्रसमेत पठाएको छ। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा पठाइएको पत्रमा महाअभियानका तर्फबाट वार्ताका लागि तीन जना प्रतिनिधि तोक्न अनुरोध गरिएको छ।

यसअघि सरकार र प्रसाईंबीच मंसिर २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको थियो। उक्त छलफलमा प्रसाईंले उठाएका मागबारे पुस २ गते पुनः बैठक बस्ने सहमति भएको थियो। सोही सहमतिअनुसार बैठकअघि नै सरकारले वार्ता समिति गठन गरेको हो।