निर्वाचन–केन्द्रित परिचालनका लागि सशस्त्र प्रहरी तयार, सुरक्षा व्यवस्थाको दोस्रो घेरामा रहने
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै पारदर्शी, निष्पक्ष र भयरहित वातावरण सुनिश्चित गर्न विशेष परिचालन नीति तयार गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत सशस्त्र प्रहरीले आफ्नो सुरक्षा योजना सार्वजनिक गरेको हो ।
प्राप्त विवरणअनुसार सशस्त्र प्रहरी बल सबै निर्वाचन क्षेत्रमा तोकिएको भूमिकाअनुसार परिचालित हुनेछ । सुरक्षा व्यवस्थाको दोस्रो घेरा सम्हाल्ने सशस्त्र प्रहरी अन्य सुरक्षा निकायहरूसँग नजिकको समन्वयमा काम गर्नेछ। साथै निर्वाचनमा खटिनुअघि सम्पूर्ण सशस्त्र प्रहरी जनशक्ति लागि निर्वाचन सुरक्षा अनुशिक्षण तालिम सञ्चालन गर्नुपर्ने व्यवस्था नीतिमा समावेश गरिएको छ।
सशस्त्र प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डीआईजी मनिष थापाका अनुसार निर्वाचन आचारसंहिता कार्यान्वयनमा सहयोग पुग्नेगरी टोली परिचालन हुनेछ। प्रदेश तथा जिल्ला–स्तरका निर्वाचन क्षेत्रका नक्सा तयार गरी संवेदनशील तथा रणनीतिक स्थानहरू पहिचान गरेर प्रभावकारी सुरक्षा मोडेल लागू गरिने उनले बताए।
थापाका अनुसार आवश्यक बन्दोबस्ती सामग्री, सवारी साधन तथा जनशक्ति सहित सशस्त्र प्रहरी निर्वाचनभन्दा एक महिना पहिलेदेखि नै तयारी अवस्थामा रहनेछ। क्युआरटी (QRT) मा रहने जनशक्तिलाई निर्वाचनको एक दिनअघि देखि एक दिनपछि सम्म हातहतियारसहित रणनीतिक स्थानहरूमा सवारीसहित परिचालन गरिने छ।
पत्रकार सम्मेलनमा सशस्त्र प्रहरीले सीमा सुरक्षा, आन्तरिक शान्ति–सुरक्षा, राजस्व संकलनमा सहयोग तथा विपद् व्यवस्थापनमा हालसम्म गरेका गतिविधिबारे पनि जानकारी दिएको थियो।
