मैले झोंकमा उम्मेदवारी घोषणा गरेको होइन, हारियो भने पनि नयाँ पार्टी खोल्ने प्रश्नै उठ्दैन : ईश्वर पोखरेल
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले पार्टी अध्यक्षमा आफ्नो उम्मेदवारी कुनै भावनात्मक झोंकमा नभई गम्भीर तयारी र औपचारिक निर्णयअनुसार घोषित भएको स्पष्ट गरेका छन्।
बुधबार सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा पोखरेलले भने, “प्यानल बनाउने–नबनाउने कुरा अलग हो। यो उम्मेदवारी कुनै झ्वाँकमा गरिएको होइन। पार्टीको औपचारिक बैठकमा जानकारी गराइएको हो। अध्यक्षसँग कुरा गरेर केन्द्रमा औपचारिक दर्ता गरिएको हो।”
उनले पार्टीभित्र विचारको विवाद नरहेको दाबी गर्दै समस्या नेतृत्वको कार्यशैलीमा देखिएको बताए।
उनका अनुसार, “विचारमा विवाद छैन। तर कार्यसम्पादन शैली त्रुटिपूर्ण बन्दै जाँदा समस्या उत्पन्न भयो। असल विचार जनतामा पुर्याउने प्रक्रियामा कमजोरी देखियो, सत्यको व्याख्या अलग–अलग हुन थाल्यो, गल्ती स्वीकार गर्ने संस्कार कमजोर भयो।”
पोखरेलले पार्टीभित्र लोकतान्त्रिक अभ्यास र सामूहिक नेतृत्व प्रणाली बलियो हुनुपर्ने आवश्यकतामाथि जोड दिए।
उनले भने, “सामूहिक नेतृत्व प्रणाली सुदृढ नगर्ने हो भने कुनै पनि दल—विशेषगरी कम्युनिस्ट पार्टी—चल्न सक्दैन। विधि, पद्धति र सामूहिक नेतृत्व कमजोर भयो भने पार्टीको आधार नै हल्लिन्छ।”
अध्यक्ष पदका प्रतिस्पर्धी रहे पनि पोखरेलले महाधिवेशनको नतिजा जसरी आए पनि आफू र आफ्नो समूह एमालेमै रहने पुनः पुष्टि गरे।
उनका शब्दमा, “हामी जित्छौँ भन्ने विश्वास छ। तर हारियो भने पनि माधव नेपालजस्तो वा भीम रावलजस्तो छुट्टै पार्टी खोल्ने सोच हाम्रोमा छैन। हामी सधैं एमालेकै पक्षमा रहन्छौँ।”
प्रतिस्पर्धा स्वीकार गर्ने संस्कार विकास हुनुपर्ने उनले जोड दिँदै भने, “जित्दा मात्रै होइन, हार्दा पनि स्वीकार गर्ने मानसिकता आवश्यक छ। प्रतिस्पर्धीहरूले नतिजा मान्न सक्नुपर्छ भन्नेमा हामी सचेत छौँ।”
पोखरेलले आफ्नो असन्तुष्टि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वसँग नभई कार्यशैलीसँग जोडिएको पनि स्पष्ट पारे।
