नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल पुनः बन्द गर्नुपर्छ : पूर्व सञ्चारमन्त्री गुरुङ
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव तथा पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका मेटासहितका सामाजिक सञ्जालहरू पुनः बन्द गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालमा व्यवसाय गर्ने सबै संस्था र कम्पनीले नेपालको कानून मान्नैपर्ने भन्दै दर्ता नगरी संचालन भइरहेका सामाजिक सञ्जाल नियमनको दायरामा आउनुपर्ने स्पष्ट संदेश दिए।
गुरुङ सञ्चारमन्त्री हुँदा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरिएको थियो, तर जेन–जी आन्दोलनपछि ती प्लेटफर्महरू फेरि खुला गरिएको थियो। वर्तमान अवस्थालाई ‘विशेष परिस्थिति’ भन्दै उनले यस्ता सञ्जाल कुनै न कुनै दिन अवश्य बन्द हुने दाबी गरे।
उनले भने, “नेपालमा अर्बौँको कारोबार गर्ने कम्पनीलाई दर्ता नगर्ने, तर साना व्यवसायीलाई अनिवार्य दर्ता गर्नुपर्ने नियम कस्तो? राष्ट्रिय स्वाधीनता र स्वाभिमानका दृष्टिले नेपालमा व्यवसाय गर्न चाहने सबैले दर्ता हुनुपर्छ, संविधान र कानून मान्नुपर्छ।”
गुरुङले विगतमा आफूले पटक–पटक आग्रह गर्दा पनि ती अन्तर्राष्ट्रिय कम्पनीहरूले नेपाललाई ‘सानो देश’ भन्दै बेवास्ता गरेको आरोप लगाए। दर्ताका लागि १३ महिनाको समय दिए पनि कम्पनीहरूले कुनै प्रतिक्रिया नदिएपछि नियमनका लागि आफूले सञ्जाल बन्द गर्न बाध्य भएको स्मरण गरे।
उनका अनुसार सामाजिक सञ्जाल बन्द भएपछि मेटालगायतका केही कम्पनीहरूले नेपाली कन्टेन्ट क्रिएटरलाई भुक्तानी दिन थाल्नु पनि त्यसकै परिणाम हो।
गुरुङले भविष्यमामा दर्ता नभएका विदेशी कम्पनीहरू बन्द गर्दा प्रयोगकर्तालाई विकल्प उपलब्ध गराएर मात्र कदम चालिने बताए। हाल नेपालमा वैकल्पिक एपहरू द्रुत गतिमा विकसित हुँदै गएको उल्लेख गर्दै उनले राज्यले डिजिटल प्लेटफर्मलाई व्यवस्थित रूपमा नियमन गर्नैपर्ने आवश्यकता दोहोर्याए।
