जेनजी आन्दोलनमा गोली प्रहार आवश्यक थियो : पूर्व गृहसचिव दुवाडी
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २३ गते भएको घटनामा सुरक्षाकर्मीहरूले आत्मरक्षा तथा हातहतियारको सुरक्षा गर्न आवश्यक भएकै कारण बल प्रयोग गरेको पूर्व गृहसचिव गोकर्णमणि दुवाडीले दाबी गरेका छन्।
मंसिर ७ गतेदेखि अनिवार्य अवकाशमा गएका दुवाडीविरुद्ध कारबाहीको मागसहित सर्वोच्च अदालतमा दायर रिटमा उनले पेश गरेको लिखित जवाफमा यस्तो भनिएको छ ।
दुवाडीले शान्ति सुरक्षा कायम राख्न कानूनअनुसार सुरक्षाकर्मीले आत्मरक्षा, हातहतियारको रक्षा र सार्वजनिक सम्पत्तिको सुरक्षा अनिवार्य रूपमा सुनिश्चित गर्नुपर्ने बताउँदै, सोही कारणले घटनाको दिन बल प्रयोग भएको स्पष्ट गरेका छन्। “उक्त मितिमा सुरक्षासम्बन्धी संवेदनशीलता अत्यधिक थियो। सुरक्षाकर्मीले आत्मरक्षा तथा हतियार संरक्षणका लागि कदम चाल्नुपर्ने अवस्था देखिएको थियो,” उनले जवाफमा उल्लेख गरेका छन्।
उनका अनुसार शान्तिपूर्ण सभा भन्दै आएको समूह सरकारी तथा सार्वजनिक क्षेत्रतर्फ प्रवेश गरेपछि सुरक्षाकर्मीका हातहतियार र गोलाबारुद जोखिममा परेको थियो। संसद भवन परिसरतर्फ प्रवेश गर्ने परिस्थिति बनेपछि शान्ति–सुरक्षा तथा सरकारी सम्पत्तिको रक्षा गर्न कडा कदम चाल्नुपर्ने बाध्यता आएको दुवाडीको तर्क छ।
दुवाडीले सुरक्षाकर्मीले आफ्नो जिम्मेवारी निर्वाह गरेको भन्दै उनीहरूविरुद्ध कारबाहीको माग अनुचित रहेको बताएका छन्।
जेनजी आन्दोलनपश्चात् गठित सरकारले दुवाडीलाई गृह मन्त्रालयबाट राष्ट्रिय योजना आयोग सचिवालयमा सरुवा गरेको थियो, जसलाई धेरैले आन्दोलनका घटनासँग जोडेर व्याख्या गरेका थिए। उनी सचिवहरूमध्ये प्रथम वरियतामा रहे पनि मुख्यसचिव बन्न नपाई सचिवकै पदबाट अवकाश भएका हुन्।
गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाउँदै प्रारम्भमा दुवाडीलाई उपत्यकाबाहिर जान रोक लगाएको थियो, जुन निर्णय पछि फिर्ता लिइएको थियो। दुवाडीविरुद्ध दायर रिट निवेदनमा उनलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाउन माग गरिएको छ। निवेदकहरूले जेनजी आन्दोलनमा अत्यधिक बल प्रयोग भएको र त्यसको जिम्मेवारी तत्कालीन गृहसचिवले लिनुपर्ने दाबी गरेका छन्।
