पर्याप्त तरलता हुँदाहुँदै पनि पूर्वाधारमा लगानी नबढ्नु चिन्ताजनक : गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले पर्याप्त तरलता र न्यून ब्याजदर भएको अवस्थामा पनि ठूलो पूर्वाधार परियोजनामा लगानी विस्तार हुन नसक्नु अर्थतन्त्रका लागि चिन्ताजनक रहेको टिप्पणी गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २९औँ वार्षिकोत्सव तथा अवार्ड वितरण कार्यक्रममा बोल्दै उनले मौद्रिक नीतिमा समावेश प्रावधानको प्रभावकारी कार्यान्वयन नहुँदा अपेक्षित नतिजा आउन नसकेको बताए। बैंक तथा वित्तीय संस्थाहरूको लगानी सीमित क्षेत्रमै केन्द्रित भएकाले स्थानीय आवश्यकताअनुसार कर्जा प्रवाह हुन नसकेको उनको विश्लेषण थियो।

गभर्नर पौडेलका अनुसार कृषि, पर्यटन, ऊर्जा तथा उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार गर्न सके आर्थिक गतिविधि तीव्र गतिमा अघि बढ्न सक्छ। “कर्जा विस्तार गर्दा जोखिम व्यवस्थापन मात्र होइन, स्थानीय आर्थिक प्राथमिकतासमेत ध्यान दिनुपर्छ,” उनले भने।

उनले बैंक तथा वित्तीय संस्थालाई नाफा वृद्धि कर्जा दरमा मात्र निर्भर नगर्न सुझाव दिँदै सेवा विस्तार, सहज पहुँच र प्रविधिको प्रभावकारी प्रयोगमा ध्यान दिनुपर्नेमा जोड दिए। “मौद्रिक नीतिका उद्देश्य पूरा गर्न बैंकहरू आफैँ सक्रिय हुनुपर्छ। वित्त तथा मौद्रिक नीतिहरू क्रमशः लचिलो हुँदै जानेछन्,” गभर्नरले भने।

अर्थतन्त्र सुधारका लागि सबै क्षेत्रको संयोजन आवश्यक रहेको उल्लेख गर्दै पौडेलले सरकारको पूँजीगत खर्च बढाउनुपर्ने आवश्यकता पनि औँल्याए। “अर्थतन्त्रका गतिविधिहरू विस्तार हुँदैछन्; यसलाई अझ गतिशील बनाउन सबै क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ,” उनले जोड दिए।