चुनावअघि नै महाधिवेशन गर्न माग गर्दै देउवा समूहका २५ केन्द्रीय सदस्यद्वारा ज्ञापनपत्र

काठमाडौँ । नेपाली कांग्रेस संस्थापन पक्षका २५ जना केन्द्रीय सदस्यले प्रतिनिधि सभा निर्वाचनअघि नै पार्टीको १५औँ महाधिवेशन गर्ने माग राख्दै शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।

१४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षसँग रहेका ती नेताहरूले आगामी फागुन २१ गते हुने निर्वाचनलाई प्रभावकारी र परिणाममुखी बनाउन १५औँ महाधिवेशन मंसिर १५ भित्रै सुरु गर्नुपर्ने बताएका छन्।

ज्ञापनपत्रमा भनिएको छ, “आगामी फागुन २१ गतेको निर्वाचन सफल र परिणाममुखी बनाउन पार्टी विधानअनुसार २०८२ साल मंसिर महिनाभित्र १५औँ महाधिवेशन प्रारम्भ गरी तहगत अधिवेशन पूरा गर्न कार्यतालिका तयार गरी कार्यान्वयन गर्नुपर्छ।”

साथै, क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण महाधिवेशनको पहिलो चरण भएकाले यसलाई तोकिएको समयसीमाभित्र टुंग्याउन माग गरिएको छ।

युवाको उल्लेखनीय सहभागिता सुनिश्चित गर्न विधान संशोधन आवश्यक रहेको, पार्टीको आन्तरिक निर्वाचन समितिलाई तुरुन्तै पूर्णता दिनुपर्ने तथा १५औँ महाधिवेशनमा युवा, महिला, दलित, आदिवासी जनजाति, थारू, मधेसी, मुस्लिम, पिछडिएका क्षेत्र/वर्गका समुदाय र अपांगता भएका व्यक्तिको अर्थपूर्ण प्रतिनिधित्व अनिवार्य रूपमा सुनिश्चित गर्नुपर्ने मागसमेत उठाइएको छ।

त्यसैगरी स्थानीय, प्रदेश र संघीय सबै तहका निर्वाचनमा समानुपातिक समावेशिताको सिद्धान्तअनुसार युवालाई पनि उम्मेदवार बनाउने तथा संविधान संशोधनका विषयमा वडादेखि केन्द्रसम्म व्यापक संवाद सञ्चालन गरी पार्टीको स्पष्ट धारणा बनाउने आवश्यकता रहेको उल्लेख गरिएको छ।