सोह्रखुट्टेबाट चार चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । व्यावसायिक भिसामा नेपाल बसेर शंकास्पद गतिविधि गरेको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन्। अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार एक महिला र तीन पुरुषलाई शुक्रबार नियन्त्रणमा लिइएको हो।

उनीहरूलाई काठमाडौंको सोह्रखुट्टे–म्हैपीस्थित मिलिजुली चोक क्षेत्रमा नियन्त्रणमा लिइएको हो। ठूलो संख्यामा चिनियाँ नागरिक बस्दै आएको यहि स्थान ‘चाइनिज हाउजिङ’ भनेर पनि चिनिन्छ। व्यावसायिक भिसा लिएका तर आफ्नो व्यवसाय, कम्पनीको नाम तथा सम्बन्धित जानकारीसमेत बताउन नसक्ने अवस्था भेटिएपछि उनीहरू शंकाको घेरामा परेको विभागले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका अनुसार आर्थिक हैसियत कमजोर भएका नेपाली युवतीहरूलाई जागिरको प्रलोभन देखाई टिकटक बनाउन लगाउने तथा त्यही माध्यमबाट अन्य चिनियाँ नागरिकसँग साथी बनाइ विवाह गर्न दवाव दिने गतिविधि उनीहरूले गर्दै आएको पाइएको छ। केही युवतीलाई चीनमा लगेर विवाह गराइदिने भन्दै पठाइसकिएको जानकारी पनि प्राप्त भएको छ।

म्हैपी क्षेत्रमै घर भाडामा लिएर नेपाली युवतीहरू राख्ने र विभिन्न मुलुकतर्फ पठाउने गतिविधि भइरहेको समेत देखिएको छ। पक्राउ परेकामध्ये दुई जना विगत १० वर्षदेखि पर्यटक, अध्ययन तथा व्यावसायिक भिसामा नेपाल बस्दै आएको खुलिएको छ।

भिसा जाँचका क्रममा उनीहरू पासपोर्ट तथा भिसा प्रमाणित कागजात देखाउन नसक्नुका साथै अध्यागमन र सुरक्षाकर्मीप्रति दुर्व्यवहार गरेको विभागका प्रवक्ता ढकालले बताए।

अध्यागमन ऐन, २०४९ को दफा ६ अनुसार विदेशी नागरिकको प्रवेश, बसाइ र प्रस्थानसम्बन्धी कागजात जुनसुकै स्थान वा समयमा अध्यागमन अधिकृत वा तोकिएको कर्मचारीले जाँच गर्न र कब्जामा लिन सक्ने अधिकार छ। त्यस्तै अध्यागमन नियमावली, २०५१ अनुसार विदेशीले आफ्नो भिसाको उद्देश्यअनुसार मात्र गतिविधि गर्न पाउने व्यवस्था छ। नियमविपरीत बसोबास गर्ने विदेशीलाई अनुसन्धानपछि ५० हजार रुपैयाँसम्म जरिवाना तथा तोकिएको वा नतोकेको अवधि सम्म नेपाल पुनः प्रवेश निषेध गरी निष्कासन गर्न सकिने व्यवस्था छ।