सुमनाले किन छोडिन् कुलमानको साथ

काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ हालका ऊर्जामन्त्री कुलमान घिसिङले गठन गर्न लागेको नयाँ राजनीतिक दलमा तत्काल सहभागी नहुने भएकी छन्।

श्रेष्ठले सहकार्य गर्ने चाहना भए पनि अहिलेका लागि सहकार्य सम्भव नभएको बताएकी छन्। उनले भनेकी छन्, “अलायन्स गरेर अघि बढ्नुपर्छ भन्ने मेरो मत अझै यथावत् छ। कुलमान सरलाई नयाँ पार्टीको स्थापना र सञ्चालनका लागि हृदयदेखि शुभकामना दिन्छु। उहाँ सक्षम व्यक्ति हुनुहुन्छ, भविष्यमा सहकार्यको बाटो खुला नै छ।”

श्रेष्ठले केही समयअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेकी थिइन्। उनले घिसिङलाई रास्वपामा भित्र्याएर सभापति बनाउन खोजेकी थिइन् तर अध्यक्ष रवि लामिछानेले पद नछोडेपछि त्यो प्रयास सफल हुन सकेन। त्यसपछि श्रेष्ठ घिसिङकै नेतृत्वमा नयाँ दल गठन गर्ने तयारीमा थिइन्।

उनका अनुसार नयाँ दलमा घिसिङलाई नै अध्यक्ष बनाउने सहमति थियो। तर परिस्थितिका कारण अहिले उनी सो अभियानमा सहभागी नहुने निर्णयमा पुगेकी छन्।

“उहाँलाई अध्यक्ष मानेर जाने कुरा थियो, तर अहिलेको अवस्था यस्तो छ,” उनले भनिन्।

श्रेष्ठले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका मुद्दा संस्थागत गर्नुपर्ने आफ्नो अडान यथावत् रहेको पनि बताइन्। उनले नेपालमा “हरेक दशकमा विद्रोह दोहोरिने परम्परा तोड्न आवश्यक छ” भन्दै सुधारात्मक राजनीतिक पहल आवश्यक रहेको उल्लेख गरिन्।

पार्टीको नाममा असहमति भएर छुट्टिएको हो? भन्ने प्रश्नमा उनले भनिन्, “नाम त्यति महत्वपूर्ण कुरा होइन। पार्टीका निर्णायक व्यक्ति जनतासँग हुनुपर्छ। पदमा समस्या छैन। वैकल्पिक विचार राख्ने सबैले एउटै ठाउँमा आउनुपर्छ।”

घिसिङ नेतृत्वको नयाँ दल ‘उज्यालो नेपाल’ नाममा निर्वाचन आयोगमा दर्ता गर्न तयारी भइरहेको छ। पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्याय यसको संयोजक छन्, र दलले चुनाव चिह्नका रूपमा ‘बिजुलीको चिम’ रोज्ने निर्णय गरेको छ।

घिसिङका निकट सहयोगी जितराम वाइबाका अनुसार सुमना श्रेष्ठ अहिले सँगै नरहे पनि पछि पार्टीमा जोडिने सम्भावना खुला छ।

“उहाँसँग कुनै विवाद छैन। अहिले सँगै नजाने निर्णय भएको हो। मंगलबारसम्म निर्वाचन आयोगमा दर्ता प्रक्रियामा जाने तयारी छ,” वाइबाले बताए।