मधेस सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

हेटौँडा । मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

संविधानको धारा १६८(३) अनुसार गरिएको सरकार गठन असंवैधानिक भएको दाबी गर्दै रक्कीप्रसाद साह र सुजित यादव नामक दुई व्यक्तिले रिट दायर गरेका हुन्।

रिटमा मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेस प्रदेश सभा लाई विपक्षी बनाइएको छ।

रिटकर्ता साहका अनुसार संविधानको धारा १६८(२) अन्तर्गतको प्रक्रिया अझै सकिएको नहुँदा पनि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले धारा १६८(३) मा टेकेर नयाँ सरकार गठन गरेर संविधानको मर्म मिचेको दाबी गरिएको छ।

‘संविधानको मापदण्ड विपरीत गरिएको सरकार गठनविरुद्ध हामीले सर्वोच्च अदालतमा रिट दिएका हौं,’ साहले बताए। उनले सर्वोच्चले संविधान रक्षाको पक्षमा सकारात्मक निर्णय गर्ने विश्वास व्यक्त गरे।