राष्ट्रिय सभा निर्वाचन माघ ११ गते, सांसदका सचिवालयमा दरबन्दी घटाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले आगामी माघ ११ गते (आइतबार) राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ।

बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले पत्रकार सम्मेलनमार्फत सो निर्णयको जानकारी दिएका हुन् ।

उनका अनुसार, २०७६ सालमा निर्वाचित १९ सदस्यमध्ये एक जना वामदेव गौतम राष्ट्रपतिद्वारा मनोनीत भएकाले बाँकी १८ पदका लागि निर्वाचन हुने छ। ती सदस्यहरूको कार्यकाल फागुन २० गते समाप्त हुने भएकाले कानुनी प्रावधानअनुसार ३५ दिनअघि निर्वाचन गर्नुपर्ने व्यवस्थाअनुरूप माघ ११ गते मिति तय गरिएको हो।

“राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल सकिनुअघि नै निर्वाचन सम्पन्न गर्न कानुनी व्यवस्था अनुसार मिति तोकिएको हो,” मन्त्री खरेलले बताए।