नेकपा एसका नेतालाई ओली आह्वान : ‘चौतारी खोज्दै हिँड्नुपर्ने अवस्था छैन, एमालेमै फर्किनुस्’
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका नेताहरूलाई पुरानो पार्टी एमालेमा फर्किन खुला आह्वान गरेका छन् ।
ललितपुरमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नाम नलिइकन पूर्वनेता माधव नेपाल र उनका समर्थकहरूलाई लक्षित गर्दै भने, “हिजो विभिन्न कारणले घर छोडेर जानु भएको थियो, अब फर्किने बेला आएको छ।”
उनले सबै मिलेर एमाले निर्माण गरिएको स्मरण गर्दै त्यसमा छुटेका नेताहरूको पनि योगदान रहेको बताए। अब त्यस योगदानलाई पुनः अर्थपूर्ण बनाउन मूल पार्टीमै फर्किनुपर्ने बेला आएको उनले उल्लेख गरे।
‘झोला बोकेर चौतारी खोज्ने अवस्था होइन’ ओलीले समाजवादी पार्टीप्रति कटाक्ष गर्दै भने, “आज समाजवादी पार्टीका नेताहरू छहारी खोज्दै, कसका पिँढीमा ओत लाग्ने भनेर झोली–तुम्बा बोकेर हिँडिरहेका छन्।”
उनले कार्यकर्ताहरूलाई पुनः एमालेमै फर्किन आग्रह गर्दै थपे, “आफैले बनाएको पार्टी यही हो। बलियो छ, डग्मगाउने छैन। कुनै चौतारी खोज्न नजानुस्, कसैका बलेँसीबाट छिर्ने प्रयास नगरनुस्।”
ओलीले एमाले हाल साढे ६ लाख सदस्य र २३ वटा पेशागत महासंघसहित सशक्त पार्टी भएको दाबी गरे।
