आईपीओ अनुमति नपाए आन्दोलनमा उत्रिने इप्पानको चेतावनी

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले धितोपत्र बोर्डबाट साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति नपाए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा इप्पान अध्यक्ष गणेश कार्कीले बोर्डमा थन्किएको जलविद्युत् कम्पनीहरूको आईपीओ प्रस्ताव तत्काल स्वीकृत गर्न माग गरे। उनका अनुसार हाल ३७ जलविद्युत् कम्पनीको १८ अर्ब २६ करोड रुपैयाँ बराबरको सेयर अनुमति पर्खाइमा छ।

कार्कीले नयाँ सरकार र जनआन्दोलनका माग एउटै भएको भन्दै निष्पक्ष र समयमै काम होस् भन्ने चाहना व्यक्त गरे। उनले भने, “आईपीओ स्वीकृतिका लागि बिचौलियाको पछि लाग्नुपर्ने अवस्था आएको छ, जुन अस्वीकार्य छ।”

इप्पानले आईपीओ प्रक्रिया रोकिँदा स्थानीयवासीलाई वितरण गर्नुपर्ने सेयरसमेत रोकिनु परेको बताएको छ। कार्कीले यसले स्थानीयस्तरमा असन्तोष बढ्दै गएको र आन्दोलनको वातावरण बनिरहेको बताए।

इप्पानका उपमहासचिव प्रकाश दुलालले भोटेकोशी आयोजनासँग सम्बन्धित सेयर वितरण सम्झौतामा निःशुल्क सेयरको कुरा नरहेको स्पष्ट पारे।
उनले भने, “आईपीओ रोकिँदा कम्पनीहरू सञ्चालनमा बाधा पुगेको छ। अब त बोर्डमै तालाबन्दी गर्नुपर्ने अवस्था आउन सक्छ।”

दुलालले धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि कमिसन मागेको आरोप पनि लगाउँदै भने, “जेनजीको सरकार हो भने यस्तो व्यक्ति बोर्डमा बस्न मिल्दैन, तत्काल बर्खास्त गर्नुपर्छ।”

  • ३७ जलविद्युत् कम्पनीको आईपीओ अनुमति पर्खाइमा
  • १८ अर्ब २६ करोड बराबरको सेयर निष्कासन रोकिएको
  • स्थानीयस्तरमा सेयर वितरण ठप्प
  • धितोपत्र बोर्डमाथि दबाब र आलोचना तीव्र