भदौ २४ नेपाली इतिहासकै डरलाग्दो दिनका रूपमा लिपिबद्ध हुनेछ, हामी सबैलाई गहिरो पीडा दिएको छ : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी विद्रोहको दोस्रो दिन, भदौ २४ गते, नेपालको इतिहासमै एक अत्यन्तै भयावह दिनको रूपमा दर्ज हुने बताएका छन् ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय समिति बैठकमा बोल्दै देउवाले भदौ २३ र २४ का घटनाहरूको गम्भीर छानबिनको माग गरेका हुन्। उनका अनुसार शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनमा बाहिरी घुसपैठ भएपछि प्रदर्शनले हिंसात्मक मोड लिएको थियो।
“भदौ २३ गते जेनजीको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भयो र त्यसपछि आन्दोलनले नियन्त्रण बाहिर गएर निर्दोष युवाहरूको ज्यान लियो,” देउवाले लेखित सम्बोधनमार्फत भने, “यस घटनाले म लगायत हामी सबैलाई गहिरो पीडा दिएको छ।”
उनले भदौ २४ गते बिहानदेखि देशभर सरकारी, प्रशासनिक, न्यायिक र राजनीतिक संरचनामाथि व्यापक आक्रमण, तोडफोड, आगजनी र लुटपाट भएको उल्लेख गरे। राष्ट्रपति भवन, सिंहदरबार, संसद, सर्वोच्च अदालत, अख्तियार आयोग, विभिन्न मन्त्रालय, प्रहरी कार्यालय, स्थानीय निकाय, वडा कार्यालय, संचार गृह, व्यापारिक प्रतिष्ठानलगायत संरचनाहरू लक्ष्यमा परेका थिए।
“यी घटनाहरूले अकल्पनीय जनधनको क्षति पुर्याएको छ,” देउवाले भने, “यो नेपाली इतिहासकै एक अत्यन्तै डरलाग्दो दिनको रूपमा दर्ज हुनेछ।”
देउवाले आन्दोलनका क्रममा कांग्रेसका शीर्ष नेता गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहका निवासहरूमा आगजनी भएकोप्रति गहिरो दुःख व्यक्त गरे। साथै, कांग्रेसको केन्द्रीय कार्यालयसहित ४८ जिल्लाका कार्यालय र झण्डै १२५ जना नेताहरूका निजी घर तथा डेरामा आक्रमण भएको जानकारी दिए।
सुरक्षाकर्मीहरूमाथि हातहतियार लुट्ने, उनीहरूको कर्तव्यमा बाधा पुर्याउने र सर्वसाधारणको निजी सम्पत्तिमा तोडफोड तथा आगजनीजस्ता कार्यहरूप्रति देउवाले कडा आपत्ति जनाए।
उनले सबै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
देउवाले देशको वर्तमान अस्थिर परिस्थितिमा लोकतान्त्रिक मूल्य र संविधान नै संकटमा परेको बताएका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउँदै अन्य लोकतान्त्रिक राजनीतिक दलहरूसँग संवाद र सहकार्य आवश्यक रहेको धारणा राखे।
देउवाले जननिर्वाचित संविधानसभा मार्फत निर्माण गरिएको संविधान आज गम्भीर जोखिममा परेको उल्लेख गरे। “प्रतिनिधिसभा असंवैधानिक र अलोकतान्त्रिक ढंगले विघटन गरिएको छ,” उनले भने, “फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकिए पनि त्यसका लागि आवश्यक वातावरण बन्न सकेको छैन।”
उनका अनुसार स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि शान्ति-सुरक्षाको भरपर्दो अवस्था अपरिहार्य भए पनि हाल सुरक्षा निकायको मनोबल कमजोर देखिएको छ।
“सुरक्षाकर्मीहरू निरीह बनेका छन्,” देउवाले भने, “शान्तिपूर्ण र निष्पक्ष निर्वाचनका लागि वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारकै हो, त्यसमा गम्भीरता देखाउनुपर्छ।”
उनले देशलाई फेरि संवैधानिक बाटोमा फर्काउन निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन सरकारलाई आग्रह गरे।
