मुख्यमन्त्री सिंहद्वारा विश्वासको मत सामना नगरी रोष्टमबाटै राजीनामा घोषणा
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सभाको रोष्टममै उभिएर राजीनामाको घोषणा गरेका छन्। उनले विश्वासको मत लिनुपर्ने समयसीमाको अन्तिम दिन मंगलबार विश्वासको मत नलिएरै पदबाट बहिर्गमनको घोषणा गरेका हुन् ।
मुख्यमन्त्री सिंहले लिखित मन्तव्य वाचन गर्दै राजीनामाको घोषणा गरेपछि सभामुख रामचन्द्र मण्डलले प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन्। सभामुखले विश्वासको मतको प्रक्रिया आवश्यक नरहने बताए।
राजीनामा घोषणासँगै सिंहले जनमत पार्टी तथा त्यसका अध्यक्ष डा. सीके राउतप्रति कडा आलोचना गर्दै चेतावनी र चुनौती पनि दिएका छन्। उनले आफू मुख्यमन्त्री बनेको दिनदेखि नै जनमत पार्टीका संसदीय दलका नेता महेश यादवले नेपाली कांग्रेससँग मिलेर षड्यन्त्र सुरु गरेको आरोप लगाए।
साथै, सिंहले लोकतन्त्रमा जनता भगवान हुने मान्यता रहेको भन्दै, कार्यकर्ताबाट आफूलाई भगवान भन्न लगाउनु लोकतान्त्रिक मूल्यविपरीत भएको टिप्पणी गर्दै डा. राउतप्रति तीव्र असन्तुष्टि व्यक्त गरे।
