कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै ५३% प्रतिनिधिका हस्ताक्षर, हस्ताक्षर फिर्ता गराउन केन्द्रबाट दबाब
काठमाडौं । नेपाली कांग्रेसमा पार्टीको विशेष महाधिवेशन माग गर्दै संकलित हस्ताक्षर भोलि (मंगलबार) केन्द्रीय कार्यालयमा दर्ता गरिने तयारी गरिएको छ। सभापति शेरबहादुर देउवालाई नेतृत्वबाट हटाउने उद्देश्यसहित महामन्त्रीद्वय गगन थापा, डा. शेखर कोइराला निकट नेताहरूको सक्रियतामा हस्ताक्षर संकलन गरिएको हो।
आजै हस्ताक्षर पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई बुझाउने तयारी गरिएको भए पनि केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित भएपछि कार्य टरेको हो। केन्द्रीय सदस्य मधु आचार्यका अनुसार, अब भोलिको कार्यसम्पादन समिति बैठक अघि नै हस्ताक्षर बुझाउने योजना बनाइएको छ।
मधु आचार्यले विशेष महाधिवेशनको पक्षमा ५३ प्रतिशत प्रतिनिधिको समर्थन प्राप्त भइसकेको दाबी गरे। उनका अनुसार, “हामीले केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाएपछि महामन्त्रीद्वयले पार्टीको तर्फबाट बैठकमा प्रस्ताव पेस गर्नुहुनेछ।”
इतर पक्षका नेताहरूले संस्थापन पक्षले हस्ताक्षर रोक्न प्रयास गरिरहेको आरोप लगाएका छन्। एक नेताका अनुसार, केंद्रबाट फोन गरेर दबाब दिइएको र कैलालीका चार जनासहित केहीले हस्ताक्षर फिर्ता लिएको बताए। तर, हस्ताक्षर फिर्ता हुनेभन्दा बढी नयाँ हस्ताक्षरहरू थपिइरहेका कारण सङ्ख्या अझै बढ्ने उनीहरूको भनाइ छ।
कांग्रेसको विधान अनुसार, केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा, वा केन्द्रीय महाधिवेशन सदस्यहरूको ४० प्रतिशतले विशेष कारणसहित अनुरोध गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्छ। यही व्यवस्थाअनुसार महामन्त्रीद्वयको नेतृत्वमा हस्ताक्षर संकलन गरिएको हो।
संस्थापन पक्षका नेताहरूले भने यो गतिविधिलाई पार्टी विभाजनको संकेत भन्दै आलोचना गरेका छन्। उनीहरूले हालको परिस्थितिमा मंसिरमा महाधिवेशन सम्भव नभएको भन्दै निर्वाचनपछि मात्रै प्रक्रिया अघि बढाउने अडान राखेका छन्।
भित्रभित्रै भने सभापति देउवाको सम्मानजनक बिदाइको लागि वैकल्पिक योजनाबारे पनि छलफल भइरहेको छ। त्यसमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक बनाउने वा केन्द्रीय समिति भङ्ग गरेर नयाँ संयोजक तोक्ने विकल्पहरू समेत छलफलमा रहेको बताइएको छ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठक, आज बस्ने भनिए पनि सहमति नजुटेकाले भोलि बिहान ११ बजे सारिएको छ। त्यसपछि दिउँसो १ बजे केन्द्रीय समिति बैठक सुरु हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
विशेष महाधिवेशन माग गर्दै असोज ६ गतेबाट सुरु गरिएको हस्ताक्षर संकलन अभियानमा नेता गुरुराज घिमिरेसहित १०९ जना बढी केन्द्रीय सदस्यहरूको सहभागिता रहेको छ। अब यसको औपचारिकता भोलिको बैठकमा प्रस्तुत हुने तयारीमा छ।
