दशैंअघि नेप्से उकालो, कारोबार रकम भने ३ अर्बभन्दा कममै सीमित

काठमाडौं । दशैं बिदाअघि आइतबार सेयर बजार हरियाली देखिएको छ। कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.५१ अंकले बढेर २,६६३.५१ बिन्दुमा पुग्दै बजार बन्द भएको हो।

बजारमा सूचक हरियो भए पनि कारोबार रकम भने सीमित रह्यो। नेप्सेका अनुसार आइतबार कुल ३१४ कम्पनीका ७५ लाख ११ हजार कित्ता सेयर किनबेच भई २ अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

दशैंको लामो बिदा सुरु हुनुअघि अन्तिम दिन भएकाले कारोबारको राफसाफ पनि चाडपछिमात्र हुने भएकाले कारोबार रकममा कमी आएको बताइएको छ।

यसैबीच, अन्तरिम सरकारले गठन गरेको पूँजीबजार सुधार सुझाव कार्यदलको प्रारम्भिक सुझावले लगानीकर्ता मनोबलमा सकारात्मक प्रभाव पारेको देखिन्छ। कार्यदलले सेयर बजार सुधारका लागि तत्काल, मध्यकाल र दीर्घकालीन गरी तीन चरणमा कदम चाल्नुपर्ने सुझाव दिएको छ।

तत्कालीन सुधारका रूपमा कार्यदलले सेयर खरिदमा रहेको ‘एकल ग्राहक सीमा’ हटाउनुपर्ने र बैंक तथा वित्तीय संस्थाले खरिद गरेका सेयर एक वर्षसम्म ‘होल्ड’ गर्नुपर्ने व्यवस्था खारेज गर्न सुझाव दिएको छ।

उपसूचकहरूको अवस्था यस्तो रह्यो:

आइतबार सेयर बजारमा अधिकांश उपसूचक हरियो रहे। म्युचुअल फन्ड समूह सबैभन्दा धेरै ०.९६ प्रतिशतले उकालो लाग्दा, बैंकिङ ०.८४, जीवन बीमा ०.८०, जलविद्युत् ०.७०, लघुवित्त ०.५९, उत्पादनमूलक ०.५१, विकास बैंक ०.४९, निर्जीवन बीमा ०.३२, लगानी ०.१४ र वित्त समूह ०.१० प्रतिशतले बढेका छन्।

तर, व्यापार समूह १.२८ प्रतिशतले, होटल तथा पर्यटन ०.१५ र अन्य समूह ०.१४ प्रतिशतले घटेका छन्।

सबैभन्दा बढी मूल्य वृद्धिको शीर्षमा ग्लोबल आईएमई समुन्नत योजना रहेको छ, जसको प्रतिइकाइ मूल्य १० प्रतिशतले उकालो लागेको छ।