मुलुकलाई निकास दिन राजनीतिक दलले प्रभावकारी भूमिका खेल्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशमा उत्पन्न राजनीतिक र सामाजिक संकट समाधानका लागि राजनीतिक दलहरूले थप जिम्मेवार र सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकताको औँल्याएकी छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपतिले देश यस्ता अनिश्चितताका अवस्थाहरूमा सधैं रहन नसक्ने स्पष्ट गर्दै दल, नागरिक समाज र नयाँ पुस्ताबीच सहकार्य आवश्यक रहेको बताइन्।
“सधैँ यस्तो अवस्थामा मुलुक रहिरहन सक्दैन,” भण्डारीले भनिन्, “यसको समाधान निकाल्नै पर्छ। र त्यसको मूल स्रोत जनताहरू हुन्। राजनीतिक दलहरूले आफ्ना नीति, विचार, दर्शनअनुसार कार्यक्रम सञ्चालन गरिरहेका छन् कि छैनन् भन्ने प्रश्नमा जनताको बीचमा पुगेर सुझाव लिन ढिला गर्नु हुँदैन।”
पूर्वराष्ट्रपतिले राजनीतिक दलहरूबीच आपसी समन्वय र सहकार्य आवश्यक रहेको बताउँदै, आ–आफ्नो विचारधारामा आधारित दलहरू तथा समाजका विविध तहबीच संवादबाट मात्र समाधानको बाटो खुल्ने विश्वास व्यक्त गरिन्।
उनले नयाँ पुस्ताको भावना र आकांक्षा सम्बोधन गर्नुपर्नेमा समेत जोड दिँदै, राजनीतिक नेतृत्वले जनउत्तरदायी कार्यशैली अपनाएर मुलुकलाई सकारात्मक दिशातर्फ उन्मुख गराउनुपर्ने बताइन्।
