डेडिकेटेड र ट्रंकलाइनको २५ अर्ब बक्यौता असुली गर्ने निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले डेडिकेटेड र ट्रंकलाइनमार्फत लिइएको विद्युत्को बक्यौता असुली गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा सहभागी एक सदस्यका अनुसार, पुनरवलोकन समितिले उद्योगी–व्यवसायीहरूको दाबी नपुग्ने निष्कर्ष दिएपछि असुली प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो ।

यो निर्णय अन्तरिम सरकार गठनपछि ऊर्जा मन्त्रालय सम्हालेका प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले अघि सारेका प्रयासअनुसार आएको हो। उनले मन्त्रालय सम्हालेसँगै बक्यौता असुलीलाई प्राथमिकता दिएका थिए।

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको अध्यक्षता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीले गर्ने व्यवस्था छ।

प्राधिकरणका अनुसार, डेडिकेटेड र ट्रंकलाइन सेवा लिएका उद्योग तथा सार्वजनिक संस्थाहरूबाट करिब २५ अर्ब रुपैयाँ बराबरको विद्युत् महसुल (जरिवानासहित) उठाउन बाँकी छ।